२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्– पक्की पुल कहिले ?



अ+ अ-

बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उहाँ लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ ।

विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिनहुन्छ प्रेमा । साइकलमा ओहोरदोहोर गर्ने उहाँको दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने बाध्यता छ । “वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ, यो पुल पनि अब जीर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक दिन ओहोरदोहोर गर्ने हुनाले महिनाभरको शुल्क एकमुष्ट तिरेकी छु ।”

लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदको पनि दैनिकी यस्तै छ । दैनिक काठेपुल भएर साइकलमा आउजाउ गर्ने उहाँ शुल्क तिर्ने गर्नुहुन्छ । दोदा नदीमा पक्की पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीय शुल्क तिरेर काठे पुल भएर यात्रा गर्ने गरेको उहाँले बताउनुभयो । “पक्की पुल निर्माण सुरु भएको वर्षौँ भइसक्यो, काम सकिएको छैन”, उहाँले भन्नुभयो, “पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ ।”

स्थानीय काठे पुल प्रयोग गरेवापत साइकलको रु १० र मोटरसाइकलको रु ३० शुल्क तिर्ने गरेका छन् । लालझाडी गाउँपालिका–४ की वृद्धा सरस्वती रानाको परिवारले व्यक्तिगत लगानीमा दोदा नदीमा काठे पुल बनाएको थियो ।

दिनभर काठे पुल कुर्ने उहाँ नदी ओहोरदोहोर गर्नेबाट शुल्क सङ्कलन गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ । “दिनमा दुई सय भन्दा बढी मानिस काठे पुल भएर नदी वारपार गर्छन्”, उहाँले भन्नुभयो, “यहीँबाट आएको पैसाले घरखर्च चलेको छ ।”

सालको काठबाट फलेक जोडेरले अस्थायी पुल बनाइएको छ । उक्त पुलको टेको मक्किएका छन् । वर्षौँदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण काठे पुल चढ्न बाध्य छन्, लालझाडीका स्थानीय । “वर्षौँ भइसक्दा पनि शुल्क तिरेर काठे पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना नै छ”, स्थानीय सेमलाल रानाले भन्नुभयो, “काठे पुल विस्थापित भएर पक्की पुलमा आउजाउ गर्ने हाम्रो सपना कहिले पूरा होला रु”

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुन्छ । मङ्सिरदेखि जेठसम्म मात्रै काठे पुलको सहायताले नदी वारपार गर्न सकिन्छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दु:ख दिने गरेको छ । “बर्खायाममा बाढी आएपछि यो बाटो भएर आउजाउ गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “सात महिनामात्रै काठे पुल भएर नदी वारपार गर्ने गरिन्छ ।” रासस