काठमाडौं । असार १० गतेदेखि सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको १५ बुँदे प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दै सम्पन्न भएको छ ।
विभिन्न आरोह अवरोह पार गर्दै बैठक शुक्रबार सम्मतिमा अन्त्य भएको हो । बैठकले कात्तिक १५ देखि १७ गतेसम्म सम्म केन्द्रीय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ । यसैगरी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष दाहालले पार्टी सञ्चालन गर्ने, सरकारको काम कारबाहीलाई पार्टीले सहजीकरण गर्ने, महत्वपूर्ण निर्णयहरु गर्नुपर्दा सचिवालयसँग परामर्श गर्ने निर्णय पनि गरेको छ ।
बैठकले अमेरिकी सहयाेग कर्पाेरेसन (एमसीसी)लाई बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा बनेको कार्यदलले दिएको प्रतिवेदनका आधारमा परिमार्जन सहित पारित गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेकामा सरकारलाई विशेष धन्यवाद समेत दिएको छ भने पार्टी भित्रको समस्या र तिनको पहिचान गरी समाधान खोज्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई स्वीकार गर्दै विशेष धन्यवाद दिएको छ ।
याे पनि पढाैं












