काठमाडौं । नेपाल सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको हिजोको निर्णयप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको किसानहरुको संगठनले विरोध जनाएको छ । उसले सो निर्णयप्रति आपत्ति जनाउँदै तुरुन्तै फिर्ता लिन माग पनि गरेको छ । भूमाफिया र दलाललाई पोस्ने गरी सो निर्णय भएको सो महासंघले जनाएको छ । सत्तारुढ दल नेकपा सम्बद्ध अखिल नेपाल किसान महासंघले कित्ताकाट फुकुवाको निर्णयबाट आफूहरुलाई दुःखी र आक्रोशित बनाएको भन्दै तुरुन्तै फिर्ता लिन भनेको छ ।
किसान महासंघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘विगतको निर्णय उल्टाउँदै कृषि भूमिको समेत पुनः कित्ताकाट सुरु हुनुले नेपाली किसानहरुको नेतृत्वदायी संगठनको रुपमा अखिल नेपाल किसान महासंघका साथै देशभरका सम्पूर्ण देशभक्त नेपाली किसानहरुलाई दुःखी र आक्रोशित बनाएको छ ।’
साथै कित्ताकाट फुकुवा गर्ने उक्त निर्णय किसान विरोधी भएको भन्दै महासंघले यस्ता निर्णय तत्काल रोक्न माग गरेको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘मुलुकको सबैभन्दा ठूलो किसान संगठन हुनुको नाताले हामी कृषि भूमिको कित्ताकाट र खण्डीकरण तत्काल रोक्न र वैज्ञानिक भूउपयोग सम्बन्धी आवश्यक नियमावली तथा निर्देशिकाहरु यथाशीघ्र जारी गरी वैज्ञानिक भूउपयोग ऐनको अबिलम्ब कार्यान्वयन गर्न जोडदार माग गर्दछौँ र नेपाल सरकारलाई यस्ता किसानविरोधी हर्कतहरु नदोहोराउन सजग गराउँदछौँ ।’ यो निर्णयले मुलुकका भूमाफिया तथा दलालहरुलाई पोस्ने किसान महासंघको ठहर छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘कृषि भूमिको कित्ताकाट फुकुवा गराउने निर्णयले नेपालको कृषि भूमिलाई खण्डीकरण गर्ने, गैर कृषि क्षेत्रमा उपयोग हुने अवस्था सिर्जना गर्ने, कृषि भूमिलाई व्यापारको वस्तु बनाउने, गरिब किसानहरुलाई आफ्नो जमिन बलजफ्ती सस्तोमा बेच्न बाध्य बनाई भूमाफिया तथा दलालहरुलाई पोस्ने र नेपाललाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने काम भएको छ ।’












