काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी काम गर्न आग्रह गर्नुभएको छ । निजामती सेवा दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दे प्रधानमन्त्री ओलीले उच्च नैतिक आचरण र ब्यवहार मार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नुपर्ने बताउनु भयो ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्था अनुरुप रुपान्तरण गरी तीनै तह बीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको पनि जनाउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै स्मरण गर्दै लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको उल्लेख गर्नुभएको छ । लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पुर्याइ जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिबृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुने भन्दै ।
निजामती सेवाको यस्तो भूमिका मार्फत् नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिने र त्यसैको माध्यमबाट हामीले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु पर्ने प्रधानमन्त्रीको भनाई रहेको छ ।
राष्ट्रको यस आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीहरुले आफ्नो क्षमता अभिबृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक ब्यवहारमा प्रदर्शन गर्न पनि प्रधानमन्त्रीले आग्रंह गर्नुभएको छ । नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको भन्दै उहाले तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका संघर्ष सकारात्मक र प्रशंसा योग्य नै रहेको जनाउनु भएको छ ।
निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको छ ।












