काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यलयसँगै अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएको छ ।
शुक्रबार नै पदावधि सकिएका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उहाँले सम्हाल्दै आउनु भएको मन्त्रालयको जिम्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीले नै सम्हाल्ने तोक्नु भएको हो ।
राष्ट्रियसभाको दुई बर्षे कार्यकाल सकिएपछि गैर सांसदका रुपमा ६ महिना दुई मन्त्रालय सम्हाल्नु भएका मन्त्री खतिवडाको पदावधि सकिएपछि दुई मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले लिनु भएको हो ।
यस अघि शुक्रबार नै बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओली रिक्त रहेका तीन मन्त्रालयका मन्त्री नियुक्त हुने भन्दै अरु मन्त्रीहरुलाई ढुक्क भएर काम गर्न निर्देशन दिनु भएको थियो ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री डा युवराज खतिवडाले दिनुभएकाे राजीनामा स्वीकृत गर्नु भएकाे छ ।












