काठमाडौ । नेपालस्थित चिनियाँ राजदूतावासले नेपालबाट हवाईमार्ग हुँदै चीन जान चाहने यात्रुलाई काठमाडौँका तीनवटा निजी अस्पतालको रिपोर्टलाई मात्र मान्यता दिने जनाएको छ । ललितपुरको सानेपास्थित स्टार हस्पिटल, सिनमंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र धुम्बाराहीस्थित ह्याम्स अस्पतालको रिपोर्टलाई मात्र मान्यता दिने दूतावासले जनाएको छ ।
चीन जान चाहनेहरुले उड्नुअघि त्रिभुवन विमानस्थलमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने जनाएको छ । यस अघि अन्य अस्पतालमा कोरोना परीक्षण गराएर रिपोर्ट लिएकाहरुले पनि फेरि दूतावासले तोकेको अस्पताल मा नै परीक्षण गराउनु पर्ने भएको छ ।
तोकिएको अस्पतालले दिएको रिपोर्ट ७२ घण्टा भित्र अनलाइन मार्फत दूतावासको भिषा सेन्टरमा बुझाउनु पर्ने पनि दूतावासले जनाएको छ । नेपालमा उडान भर्ने सबै चिनियाँ विमान कम्पनीहरूले दूतावासको निर्देशन अनिवार्य पालन गर्नुपर्ने पनि दूतावासले जनाएको छ ।












