काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई सर्वोपरी ठान्ने व्यक्ति र प्रवृत्ति आँफै पतन भएर जाने टिप्पणी गर्नुभएको छ ।
४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफूलाई सर्वोपरी ठान्ने र आफैंलाई केन्द्रविन्दुमा राख्नेहरु आफैं पतन भएर जाने र त्यो प्रवृत्ति पनि पतन हुने बताउनु भएकाे छ ।
विधिको पालना गरी संगठनलाई सुचारु गर्न सके सबै कुरा गति र स्वाभाविक प्रकृयामा अगाडी बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विधिको पालना गरिएन भने, ‘आइएम द स्टेट’ ठानियो भने, आफूलाई सर्वोपरी ठान्न थालियो भने, आफूलाई मात्र केन्द्रविन्दुमा राख्न थालियो भने, आफू बाहेक दुनियाँमा कसैको केही अर्थ छैन भन्ने ठान्न थालियो भने त्यस्तो अहंकारको भावनामा चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिको पतन हुने बाहेक अर्को केही पनि हुँदैन ।’’
नेता नेपालले त्यस्तो प्रवृत्तिमा कोही चुर्लुम्म डुबेको छ भने समयमै जोगिनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यस्ता विचार र प्रवृत्तिमा यदि हामी केही चुर्लुम्म डुबेका छौँ भने त्यसबाट जोगिन समय छ । तर समय धेरै ढिला हुन थालेको छ ।’’
नेता नेपालले कम्युनिष्ट पार्टी फुट्छ की भन्ने चिन्ता नलिन पनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभयाे । कसैले पार्टी फुटाउन खोजे उ एक्लिएर जाने तर पार्टी कहिले पनि नफुट्ने उहाँले दाबी गर्नुभयाे । उहाँले भन्नुभयो, ‘‘पार्टी फुट्नेवाला छैन । कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर पार्टी फुटेर जानेवाला छैन । फुट्नेवाला छैन । कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भनेपनि डरले थर थर काप्नुपर्ने आवश्यकता छैन ।’’
नेता नेपालले पार्टी भित्रको समस्या छलफल गरेर हल गर्ने अधिकतम प्रयास भइरहेको समेत बताउनभयाे । पार्टीका लागि व्यक्ति प्रधान नभएर विधि र पद्धति प्रमुख कुरा भएको उहाँले बताउनुभयो । विधि र पद्धतिको आधारमा सबैले पार्टी बहुमतले गरेको निर्णय मान्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘म मान्दिन, म मान्न बाध्य छैन आदि इत्यादी भन्न कसैले पनि पाउँदैन । त्यो छुट पाइँदैन । मलाई लाग्छ फेरि पनि बुद्धि सबैमा पलाउने छ ।’’












