काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी दिनमा देशले आवश्यक ठानेका राजनीतिक दल, समूह तथा व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गोरखा क्षेत्र नम्बर–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने घोषणा गर्दै डा. भट्टराईले सबैको आग्रहअनुसार प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धाभन्दा बाहिर रहेरै विभिन्न दल र समूहलाई सघाउने बताएका हुन्।
उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गर्दै उनले भने, ‘भोलि आवश्यक पर्दा देशका लागि विभिन्न रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेर मैले आज दर्ता गरेको मनोनयनपत्र फिर्ता लिने निर्णय गरेको छु। आगामी दिनमा देशले चाहेको राजनीतिक दल, अग्रगामी सोच राख्ने दल, समूह र व्यक्तिहरूलाई आवश्यकताअनुसार सहयोग गर्दै देश र समाजको हितका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’
डा. भट्टराईले आगामी दिनमा पनि आफू निरन्तर जनताको सेवामा लागिरहने स्पष्ट पारे। उनले देशको अग्रगमन, समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षा तथा अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बृहत् शान्ति सम्झौता कार्यान्वयनमा सहयोग गर्ने बताए।
उनले जेन–जी आन्दोलनपछाडि राज्य र जेन–जी समूहबीच भएका सम्झौताहरूको कार्यान्वयनमा पनि आफ्नो तर्फबाट आवश्यक सहयोग रहने उल्लेख गर्दै भने, ‘आवश्यक पर्ने जुनसुकै भूमिका पनि म निःशर्त र निस्वार्थ रूपमा निर्वाह गर्नेछु।’
डा. भट्टराईले आफूले स्थापना र हुर्काउँदै आएको तत्कालीन नयाँ शक्ति पार्टी हाल प्रगतिशील लोकतान्त्रिक पार्टीका रूपमा अगाडि बढिरहेको जानकारी दिए। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीलगायत नयाँ राजनीतिक दलहरू र पुराना दलभित्र रहेका अग्रगामी सोच भएका नेताहरूसँग सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्–












