कालीकोट। कालीकोटको रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली प्रदेश सरकारले ‘नवप्रवर्तन साझेदारी कोष’ कार्यक्रमअन्तर्गत ‘डिजिटल पालिका’ बनाउन लागेको हो ।
आज बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार डिजिटल पालिका कार्यक्रम सञ्चालन गर्न रु ४९ लाख बजेट विनियोजन गरेर कार्यान्वयनको अख्तियारीसमेत प्राप्त भएको नगरप्रमुख धर्मराज शाहीले बताउनुभयो ।
यसअघि प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले प्रदेश सरकारले रास्कोटसहित प्रदेशका सात स्थानीय तहलाई कुल रु तीन करोड ४० लाख बराबरको परियोजना कार्यान्वयन गर्न अनुमति दिने निर्णय गरेको जानकारी दिनुभएको थियो ।
यस कार्यक्रमले पालिकाका सूचना, तथ्याङ्क र सेवाहरूलाई ‘अनलाइन’ प्रणालीमा आबद्ध गरी नागरिकलाई छिटो र छरितो सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । रासस












