२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुम्चिँदै चारकोसे, मोरङ-सुनसरीमा ३० वर्षयता ११ हजार हेक्टर घट्यो



अ+ अ-

विराटनगर । मोरङ–सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको छ । अहिले पनि कागजी रूपमा ५५ हजार ५ सय हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको हो ।

घना जंगल रहेको ठाउँमा अहिले बाक्लो बस्ती र बजार विस्तार भएको छ । डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले तीन दशकमा जंगल क्षेत्र करिब ११ हजार हेक्टर घटेको बताए ।

अहिलेको लेटाङ, बेलबारी, डाँगीहाट, भाउन्ने, पथरी, कानेपोखरी, मंगलबारे, उर्लाबारी, मधुमल्ला, केराबारी र सुन्दर हरैंचालगायत क्षेत्रमा घनाजंगल थियो । अहिले ती सबै ठाउँमा बाक्लो बस्ती र बजार विस्तार भएको छ । जंगलको बीचमा रहेको लेटाङ नगरपालिकाको बजार क्षेत्र सबै चारकोसेको जमिन हो । यहाँ वन अतिक्रमण गरेर बसोवास गर्ने परिवारको संख्या ३ हजारभन्दा बढी रहेको नगर प्रमुख शंकर राईले बताए । ०२४ सालमा चिसाङ खोलाले बस्ती उठाएपछि त्यहाँका बासिन्दा यता सरेको उनको भनाइ छ ।

पथरी नगर क्षेत्रमा एक हजार ५ सय परिवारभन्दा बढी चारकोसेको जमिनमा बसेको नगर प्रमुख दिलीप राईले बताए । नगरमा करिब ६ हजार परिवार सुकुम्बासी छन् । ‘तीमध्ये पन्ध्र सय परिवार जंगलमा र अरू ऐलानी जमिनमा बस्दै आएका छन्,’ उनले भने । जंगलसँगै जोडिएको सुन्दर हरैंचा नगरपालिकामा सय बिघाभन्दा बढी जंगलको जमिन अतिक्रण भएको नगर प्रमुख शिवप्रसाद ढकालले बताए । उनका अनुसार नगरका वडा ४, ५, ९ र १० मा जंगलको सयौं बिघा अतिक्रमण भएको छ ।

जंगलबीचमा रहेको केराबारी, उर्लाबारी, भाउन्ने र कानेपोखरीमा पनि सयौं परिवार जंगलको जग्गामा बसिरहेका छन् । बेलबारी–११ का रामकुमार लिम्बूले लालपुर्जाबिनाको लक्ष्मीमार्गको चार धुर जमिनमा करिब ६० लाख लागतमा तीनतले घर बनाएका छन् । उनको घरले चर्चेको जमिन चारकोसे जंगलको नाममा छ । उक्त घर र जमिन बेच्न चाहे तत्काल महँगोमा बिक्री हुन्छ । त्यहींका याम कार्की, पदम राई, वीरबहादुर धिमाल र मिनु लिम्बूले पनि लालपुर्जा नभएको जमिनमा चारतले घर बनाएका छन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त जमिन र घर अन्तको भन्दा महँगोमा बिक्री हुन्छ ।

लालपुर्जा नभएको जमिन र त्यसमा निर्माण भएको घर खरिद–बिक्री हुँदा स्थानीय बजार व्यवस्थापन समितिले अभिलेख राख्छ ।

त्यसबापत उसले बजार व्यवस्थापनका नाममा केही राजस्व पनि असुल गर्दै आएको छ । समितिका अध्यक्ष रामकुमार लिम्बू नै हुन् ।

बेलबारीको लक्ष्मीमार्गमा मात्रै करिब ६ सय घर लालपुर्जाबिनाको जमिनमा बनाइएको छ । घर बनेको जमिन चारकोसे जंगलको हो । लक्ष्मी सामुदायिक वन क्षेत्रअन्तर्गतको करिब चार हेक्टर वन अतिक्रमण गरी बसेको वडाध्यक्ष राजन पोखरेलले बताए । ती बस्तीका कुनै पनि घर र त्यसले चर्चेको जमिनको लालपुर्जा छैन । ‘घर र जमिन खरिदबिक्री भइरहन्छ,’ पोखरेलले भने, ‘नम्बरीभन्दा महँगोमा बेचविखन हुन्छ । लालपुर्जाबिनाको जमिन प्रतिधुर ५ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको उनले जानकारी दिए ।

बजार व्यवस्थापन समितिका अध्यक्ष लिम्बूका अनुसार यो बस्तीका सबैले घर र जमिन बिक्री गर्दा समितिलाई जानकारी दिन्छन् । ‘फलानाले भोग गरेको जमिन फलानाको अधीनमा रहेको भन्ने अभिलेख समितिले राख्छ,’ उनले भने, ‘त्यसबापत खरिद–बिक्रीको रकमअनुसार कम्तीमा १ हजार ५ सयदेखि ३ हजारसम्म राजस्व लिन्छ ।’ त्यो रकम बजार व्यवस्थापनमा खर्च हुने उनले बताए ।

वन क्षेत्र अतिक्रमण गरेर बनाइएको घर र जमिनको तत्कालीन डाँगीहाट गाउँ विकास समितिले कार्ड नम्बर वितरण गरेको थियो । त्यही नम्बरअनुसार बजार व्यवस्थापन समितिले अभिलेख राखेको छ । अभिलेखमा प्रत्येक व्यक्तिले चर्चेको जमिनको चार किल्ला प्रमाणित गरी भोगचलन गर्नेको फोटो टाँसिएको छ । अध्यक्ष लिम्बूका अनुसार त्यो जमिन कसैले बिक्री गरे अभिलेखबाट उसको नाम र फोटो हटाएर नयाँ खरिदकर्ताको नाम र फोटो राखिन्छ । त्यही अभिलेखका आधारमा जमिन र घर खरिद–बिक्री भइरहेको लिम्बूले बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।