२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदर धपाउन नगरपालिकाले छुट्यायो ५० लाख



अ+ अ-

भोजपुर । अधिकांश स्थानीय सरकारसँग सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारमा बजेट खर्चिन जनताको माग छ । तर, भोजपुर नगरपालिकाका जनताले भने यी सबै सुविधा नदिए पनि बाँदर भने धपाइदिन जनप्रतिनिधिसँग अनुरोध गरेका छन् ।

स्थानीयको माग सम्बोधन गर्दै नगरपालिकाले चालू आर्थिक वर्षका लागि बाँदरआतंक नियन्त्रण गर्ने शीर्षकमा ५० लाख विनियोजन गरेको छ । ‘बाँदरले सतायो भन्दै धेरै जनता आउनुहुन्छ । सडक, खानेपानी बरु चाहिएन, बाँदर धपाइदिनुपर्‍यो भन्नुहुन्छ । बाँदरले भातको भाँडो नै बोकेर हिँडेको गुनासोसमेत आएको छ । जनता बसाइँ सर्न थालेका छन्,’ मेयर कैलाशकुमार आलेले भने, ‘जनताको माग सम्बोधन गर्नु हाम्रो कर्तव्य हो । त्यसैले बाली संरक्षण शीर्षकमा यस वर्ष ५० लाख विनियोजन गरेका छौँ । किसानलाई अनुदान दिनुभन्दा अहिलेलाई बाली संरक्षण गर्नुपर्ने आवश्यकता देखियो ।’

हालै सम्पन्न नगरसभामा वडाका जनप्रतिनिधिले समेत बाँदर समस्यालाई प्रमुखताका साथ उठाएको आलेले जानकारी दिए । उनले भदौबाट बाँदरखोर ९पासो० बनाएर बाँदर समात्ने अभियान सुरु गर्ने बताए । ‘बाँदर समातेर राष्ट्रिय निकुञ्जमा लगेर छोड्ने योजना बनाएका छौँ । त्यसका लागि निकुञ्जसँग स्वीकृतिको पहल भइरहेको छ,’ उनले भने, ‘कानुनअनुसार बाँदर मार्न मिल्दैन । त्यसैले समातेर निकुञ्जमा छोड्नुको विकल्प रहेन ।’

बाली जोगाउन दैनिक १३ घन्टा बारीमै
भोजपुर नगरपालिका–४ का मानबहादुर खड्काको बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मको वास बारीमै हुन्छ । जेठ पहिलो सातादेखि उनको यो रुटिन चलिरहेको छ । बारीमा उनको काम हुन्छ, बाँदर लखेट्ने ।

उनी मात्रै होइन, भोजपुर नगरपालिका ३ र ४ का पाँचवटा गाउँका बासिन्दा मकै जोगाउन दिनभर बाँदर गोठालो बन्नुपरेको छ । तैपनि बाँदरले सताउन नछाडेपछि कतिपयका बारी खाली बनेका छन् । ‘केही समय गोठालो गरियो । तर, सकिएन र छोड्यौँ,’ स्थानीय नवराज कार्कीले भने, ‘कोदो रोप्दा पनि उखेलेर सिध्यायो ।’

यी गाउँमा पाँच-सात वर्षअघिसम्म बाँदरको समस्या थिएन । अहिले भने आतंक नै मच्चाएको छ । मकै मात्र होइन धान, अलैँची, सुन्तलालगायत खाद्य तथा नगदेबाली सखाप पारेपछि किसान चिन्तित बनेका छन् ।

‘मकै जोगाउन सकिएन, धानको गुभा च्यात्न थालिसक्यो, अलैँचीको कोपिला सखाप बनायो,’ स्थानीय मचीन्द्रबहादुर बस्नेतले गुनासो गरे, ‘आगामी वर्षदेखि मकै नरोप्ने निष्कर्षमा पुगेको छु । यही अवस्था रहे बसाइँ हिँड्नुपर्ने अवस्था छ ।’

बाँदरले बारीमा मात्रै सताएको छैन, घरघरै पसेर अन्न खाइदिएको छ । नगरपालिकाका १२ वटा वडामध्ये ११ वटामा बाँदरआतंक छ । ७ नम्बर वडामा मात्रै बाँदरले दुःख नदिएको मेयर कैलाशकुमार आलेले बताए ।

घाँससमेत बाँकी नराखेपछि ट्याम्के–मैयुङमा मारियो चार सय बाँदर
भोजपुर नगरपालिकाको छिमेकी गाउँपालिका ट्याम्के–मैयुङमा बाँदरका कारण बसाइँसराइ बढेपछि बाँदर मार्ने अभियान नै सञ्चालन गरिएको छ । ‘खाद्यबाली, नगदेबालीदेखि गाईवस्तुलाई खुवाउने घाँससमेत सखाप पारेपछि बाँदर मार्ने अभियान चलाएका छौँ,’ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भने ।

उनका अनुसार एक वर्षयता बाँदरघर ९पासो०मा पारेर मार्ने अभियान चलाइएको छ । हालसम्म करिब चार सय बाँदर मारिएको राईको दाबी छ । ‘कानुनले बाँदर मार्न दिँदैन । तर, पाइँदैन भनेर जनताको दुःख टुलुटुलु हेर बस्न सकिएन । जनताको अग्रसरतामा अभियान चलाइएको हो,’ उनले भने, ‘खोरमा हालेर र भरुवा बन्दुक प्रयोग गरेर बाँदर मार्ने गरेका छौँ ।’

केही महिनाअघि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिको बैठकमा समेत बाँदर मारिएको विषय उठेको थियो । तर, अध्यक्ष राईले ‘देश रहे जनता रहने र जनता रहे जनप्रतिनिधि’ भन्दै कानुनअनुसार कारबाही भोग्न तयार रहेको, अभियान भने नरोकिने बताएका थिए । ‘हो, मैले सबैका अगाडि कानुनअनुसार पक्रन, कारबाही गर्न भनेको हुँ । जनताको उठीवास लागिसक्यो, म अभियान रोक्दिनँ पनि भनेको हुँ,’ उनले भने । बाँदर नियन्त्रणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा एक लाख बजेट विनियोजन गरेको थियो । अबको दुई वर्षभित्र बाँदर उन्मूलन गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले बताए । समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।