२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयका पदाधिकारीको पदावधि सकिँदै, सुरु भएन छनोट प्रक्रिया



अ+ अ-

काठमाडौँ । विश्वविद्यालयका पदाधिकारीहरूको पदावधि सकिन एक महिना बाँकी हुँदा पनि छनोट प्रक्रिया अझै थालिएको छैन । विश्वका विश्वविद्यालयहरूमा यस्तो प्रक्रिया पदाधिकारीको पदावधि सकिनु एक वर्षअघि नै सुरु गर्ने परम्परा छ । हतारमा ‘सर्च कमिटी’ गठन गर्ने नेपाली परम्पराले राम्राभन्दा हाम्रा व्यक्ति नियुक्त हुने प्रवृत्ति विगतमा झाँगिँदै गएको छ ।

न्युजिल्यान्डको क्यान्टरबरी विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गर्नुभएका नेपाल खुला विश्वविद्यालयका अध्यापक डा। कर्ण लामाले आफूले अध्ययन गरेको विश्वविद्यालयमा एक वर्षअघि नै विज्ञापन आह्वान गर्ने गरेको अनुभव सुनाउनुभयो । त्यस्तो आवेदनमा विदेशीले समेत आवेदन दिन पाउने व्यवस्था छ । उहाँले थप्नुभयो, “खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त हुनुपर्छ । बोर्ड अफ ट्रस्टीले पदाधिकारी नियुक्त गर्ने विधि नअपनाउन्जेल हाम्रा विश्वविद्यालय सुध्रिन सक्ने देखिँदैन । ”

विश्वका प्रायः सबै विश्वविद्यालयले बोर्ड अफ ट्रस्टीमार्फत पदाधिकारी छनोट र नियुक्त गर्ने परम्परा छ । नेपालले पनि यसै परम्परालाई विश्वविद्यालयमा प्रयोग गर्नुपर्ने सिफारिस उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले गत माघ १ गते सरकारसमक्ष गरेको थियो ।

विश्वविद्यालयमा प्रधानमन्त्री तथा शिक्षामन्त्री रहने व्यवस्था नरहने र पदाधिकारीको नियुक्ति बोर्ड अफ ट्रस्टीले गर्नुपर्ने सिफारिस आयोगले गरेको थियो । हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा सर्च कमिटी गठन गर्ने र त्यसले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले नियुक्त गर्ने व्यवस्था छ । नेपालका १० वटा विश्वविद्यालय र छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुलपतिमा प्रधानमन्त्री र नेपाल खुला विश्वविद्यालयको कुलपतिमा शिक्षामन्त्री रहने व्यवस्था छ ।

आयोगका सदस्य डा. सदानन्द कँडेलले राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न राजनीतिक व्यक्तित्वहरू विश्वविद्यालयका पदाधिकारीका रूपमा रहने व्यवस्था हटाउनैपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “निकै सङ्घर्ष गरी आयोगले त्यस्तो सिफारिस गरेको थियो । प्रतिवेदन कार्यान्वयनमा आउन सके विश्वविद्यालयहरू राजनीतिक हस्तक्षेपबाट टाढा रहने थिए । ” आयोगले प्राज्ञिक क्षेत्रबाट ४०, विशेष योगदान गरेकाबाट ४५ र सरकारी प्रतिनिधित्व १५ प्रतिशत रहने गरी बोर्ड अफ ट्रस्टीको परिकल्पना गरेको छ ।
बोर्डको अध्यक्षता प्राज्ञिक क्षेत्रका व्यक्तित्वबाट गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ । ट्रस्टीले कुलपति छनोट समिति गठन गर्ने र त्यसले खुला प्रतिस्पर्धाका माध्यमबाट कुलपति छनोट गर्ने विधि अपनाउने प्रस्ताव प्रतिवेदनमा उल्लेख छ । यसरी छनोट भएका कुलपतिले नै अन्य पदाधिकारी नियुक्त गर्ने विधिलाई आयोगको सिफारिसमा समावेश गरिएको छ ।

केही मुलुकले भने विश्वविद्यालयभित्रका प्राध्यापकहरूबीच मतदानका आधारमा पदाधिकारी छनोट गर्ने विधि अपनाउने गरेको पाइन्छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले आफूले अध्ययन गरेको जर्मनीको फ्लेन्सवर्ग विश्वविद्यालयमा मतदानका आधारमा पदाधिकारी छनोट गर्ने विधि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वभरिका विश्वविद्यालयमा पदाधिकारी छनोट तथा नियुक्तिमा राजनीतिक प्रभाव रहँदैन । आवेदन आह्वान गर्ने र आवेदन दिन नचाहने विशेष व्यक्तित्वको सिफारिस अरूले गरिदिने पद्धति आवश्यक देखियो । छनोट समिति स्वतन्त्र हुनैपर्छ । ”

अमेरिकाको भर्जिनिया विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरी अमेरिकामा अध्यापन गर्नुभएका डा. वेदप्रकाश गिरीले विश्वमा कतै पनि नेपालको जस्तो विश्वविद्यालयमा ठाडो राजनीतिक हस्तक्षेप नहुने गरेको बताउनुभयो । उहाँले कतिपय विश्वविद्यालयमा बाहिरबाट पनि पदाधिकारी ल्याउने चलन रहेको र योग्यता तथा क्षमताका आधारमा नियुक्ति गर्दा पदाधिकारीहरू राजनीतिप्रति नभई विश्वविद्यालयप्रति उत्तरदायी हुने छन् भन्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलले नियुक्त गरेर विश्वविद्यालय बन्दैन । राजनीतिक छायाँले संस्था बिग्रन्छ । विश्वविद्यालयलाई स्वायत्त बनाउनैपर्छ । पदाधिकारीलाई सिनेटप्रति उत्तरदायी बनाउन सक्नुपर्छ । ”

दक्षिण कोरियाको चाङ्वन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गर्नुभएका डा. बाबुराम ढुङ्गानाले नेपाली विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रिया राम्रो छैन भन्दै थप्नुभयो, “योजना प्रस्तावका आधारमा निकै समय लगाएर छनोट गर्नुपर्छ । धेरै पटक छाँट्दै जानुपर्छ । शिक्षामन्त्रीको अध्यक्षतामा हुने सर्च कमिटीले राजनीतिक व्यक्तिबाहेकलाई छनोट नगर्न सक्छ ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।