२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला बेचबिखन रोकिएन



अ+ अ-

काठमाडौँ । विगतमा नेपाली महिलाको बेचबिखन भारतका कोठीहरूमा यौन शोषणका लागि हुन्थ्यो । अहिले भने बेचबिखनको क्षेत्र र प्रयोजन फैलिँदै गएको छ । विश्वका विभिन्न देशमा विविध स्वरूपमा मानिसको बेचबिखन हुने गरेको छ । भारतमा बेचिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको छ । दक्षिण एसियाकै श्रीलङ्का, माल्दिभ्स लगायत देशमा समेत महिला यौन शोषणका लागि पुर्याइएका जानकारी प्रहरीमा आउने गरेका छन् । होटल तथा रेस्टुराँहरूमा रोजगारी दिने प्रलोभनमा पारी नेपाली महिलालाई बाध्यात्मक श्रम र यौन शोषणका लागि ती देशमा पुर्याइने गरेको पाइन्छ । नेपाल सरकारले मानव बेचबिखनलाई रोक्ने कार्यलाई उच्च प्राथमिकतामा राखे पनि परिणाम भने आशलाग्दो आएको देखिँदैन ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले यौनदासीका रूपमा भारतमा बेचिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिण एसियाकै श्रीलङ्का, माल्दिभ्सलगायत देशमा समेत महिला यौन शोषणका लागि पुर्याइएका सूचनाहरू आउने गरेका छन् । ” नेपाल प्रहरीमा आर्थिक वर्ष २०७५/७६ मा मात्र १९० मुद्दा दर्ता भएका छन् । २०७४/७५ मा जम्मा ३०५ वटा बेचबिखन र ओसारपसारका मुद्दा दर्ता भएका थिए ।

औषधोपचार, लोभलालच, विवाह, आफन्त भेटाउने, धाकधम्की, ललाइफकाई, जागिरको प्रलोभन, विदेश घुम्नेजस्ता बहानामा मानव बेचबिखन र ओसारपसार हुने गरेको भनाइ प्रहरीको छ । यस्ता घटनाका अधिकांश प्रभावित भने बालक र पुरुषभन्दा बालिका र महिला हुने गरेको तथ्याङ्क छ ।

कमी आएन बेचबिखन
यौन व्यवसाय र शोषणका लागि महिला बेचबिखनको अवस्थामा पनि कुनै कमी नआएको शक्ति समूहका कानुनी तथा तालिम संयोजक दिलीप कोइराला बताउनुहुन्छ । केन्या, तान्जानिया, जापान, चीन, कोरियालगायत देशमा चेलीबेटीको ओसारपसार हुने गरेको उहाँले बताउनुभयो । रोजगारीकै लागि भनी गएका महिलाले पनि यौन शोषण भोग्नु परेको छ । त्यस्तै दुबई, कतारजस्ता खाडी मुलुकमा लगिने चेलीबेटीलाई पनि अघोषित रूपमा यौन व्यवसायमा लगाइएको पाइएको छ । चीनमा बच्चा जन्माइदिन र जापानमा श्रममा लगाई आम्दानी खान नेपाली चेलीबेटी पु¥याइने घटना पनि पाइएको कोइरालाले बताउनुभयो ।
उद्धार गरिएका चेलीबेटीको दिगो पुनस्र्थापना समस्या पनि जटिल भएको भनाइ विभिन्न सङ्घसंस्थाको छ । पुनस्र्थापनाको तथ्याङ्क धेरै भए पनि उनीहरू पुनः बेचबिखनमा परेका घटनाको सङ्ख्या पनि धेरै रहेको उहाँको भनाइ छ । उनीहरू पुनः बेचबिखनमा नपरून् र सम्मानित जीवन बाँच्न सकून् भन्नका लागि सरकारले पुनस्र्थापनाको मापदण्ड बनाउनुपर्ने उहाँको सुझाव छ ।

नेपाल हुँदै ओसारपसार
ओसारपसार गर्नेको सङ्गठिन जालोले नेपाललाई ‘ट्रान्जिट’को रूपमा प्रयोग गर्ने गरेको पाइएको एसपी थपलियाले बताउनुभयो । बङ्गलादेश, भारत, पाकिस्तान, अफगानिस्तानलगायत देशका मानिस सीधै ओसारपसार गर्न नसकेपछि विभिन्न बाटो खोज्ने क्रममा नेपाललाई पनि बाटो बनाउने गरेको जानकारी प्रहरीले दिएको छ ।

संयोजक कोइरालाका अनुसार नेपालमै पनि विभिन्न देशका चेलीबेटी शोषणका लागि ओसारपसार गरिएका छन् । उहाँले भन्नुभयो, “ठमेलमै पनि ‘यहाँ विभिन्न देशका केटी उपलब्ध छन्’ भनी विज्ञापन गरी यौन व्यवसाय गरिरहेको पाइएको थियो । ”

उद्धारमा चुनौती
आधुनिक सञ्चार प्रविधिले अनुसन्धानमा एकातिर सजिलो बनाएको छ भने अर्कातिर जटिलता पनि थपिएको भनाइ प्रहरीको छ । फेसबुक, भाइबरमार्फत हुने अपराधको प्रमाण जुटाउन प्रहरीलाई गाह्रो हुने गरेको एसपी थपलिया बताउनुहुन्छ । अर्कोतिर विदेशमा बसेर मानव बेचबिखन र अपराध गर्नेहरूलाई समातेर ल्याउन विभिन्न कानुन, सन्धि, वैदेशिक सम्बन्ध लगायतका जटिलताका कारणका कठिनाइ रहेको उहाँको भनाइ छ ।

त्यस्तै बेचबिखनमा परेका व्यक्तिको उद्धारका लागि सरकारको निश्चित कार्यविधि नभएकाले उद्धार हुन नसक्ने र लामो समय लाग्ने गरेको संयोजक कोइरालाको भनाइ छ । यसरी लामो समय विदेशकै सेल्टरमा बस्नुपर्दा कतिपय भाग्ने अनि आत्महत्या गर्ने गरेको उहाँले बताउनुभयो । विभिन्न गैरसरकारी सङ्घसंस्थाले आआफ्नै तरिकाले उद्धारको काम गरिरहेका छन् ।

बेचबिखनविरुद्ध सरकारी प्रयास
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६५ हाल कार्यान्वयनमा छ । ऐनले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने, वेश्यागमन गर्ने कार्यलाई नेपालको कानुनले बेचबिखन भनेको छ ।

मानिसको किनबेचमा संलग्नलाई बढीमा बीस वर्ष कैद र दुई लाख रुपियाँ जरिवाना हुने व्यवस्था ऐनले गरेको छ । यो कानुनको महत्वपूर्ण पक्ष उजुरीको कुनै हदम्याद तोकिएको छैन र जोसुकैले पनि उजुरी गर्न सक्छ । नेपाल सरकारले २०७५ जेठ २६ गते निर्णय गरी नेपाल प्रहरीअन्तर्गत मानव बेचबिखन अनुसन्धान ब्युरो गठन गरेको छ । ब्युरो स्थापना भएपछि मात्र २५१ जनालाई भारत, केन्या, लिबिया, कुवेत, किर्गिस्तान, इराकलगायतका देशबाट उद्धार गरिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।