२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक ६ बलात्कार, दुईको हत्या १५ आत्महत्या



अ+ अ-

काठमाडौं । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष ०७५/७६ मा अपराधका घटनामा ९ प्रतिशत वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सार्वजनिक अपराधबाहेक सबै किसिमका अपराधका घटना बढेका छन् । बलात्कार, लागुऔषध, चोरी र बैंकिङ कसुरजस्ता गम्भीर प्रकृतिका आपराधिक घटना अझ बढेका छन् ।

प्रहरीको तथ्यांकअनुसार आव ०७५/७६ मा ४३ हजार ४७ मुद्दा दर्ता भएका छन् । त्यसअघिको वर्ष ३९ हजार तीन सय १५ आपराधिक घटना भएका थिए । गत वर्ष दुई हजार दुई सय ३३ वटा बलात्कार तथा बलात्कार प्रयाससम्बन्धी उजुरी प्रहरीमा परेका छन् ।

जसअनुसार दैनिक औसतमा ६ भन्दा धेरै बलात्कारका घटना हुने गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३३.७२ प्रतिशत बढी हो । निर्मला पन्तको बलात्कार र हत्यापछि प्रहरीसहितका निकायले यस्ता अपराध नियन्त्रणका लागि विशेष अभियान चलाएका थिए । तर, अपराधका घटना झन् बढेका छन् । ‘उजुरी दिनुपर्छ भन्ने चेतना बढेकाले पनि विगतको तुलनामा संख्या बढेको हुन सक्छ,’ प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन् । बलात्कारका थुप्रै घटनामा उजुरी पर्दैन ।

बलात्कारका ६२ प्रतिशत घटनामा बालिकाहरू पीडित भएका छन् । ७९ प्रतिशत बलात्कारका घटना चिनजानकै व्यक्तिबाट र ६ प्रतिशत घटना घरभित्रैबाट भएका छन् ।

त्यस्तै, चोरीसम्बन्धी अपराध ७६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष एक हजार ६ सय २८ वटा चोरीका घटना भएकोमा गत वर्ष बढेर दुई हजार आठ सय ७४ पुगेको छ ।

तीन सय प्रतिशत बढ्यो बैंकिङ कसुर
बैंकिङ कसुरका मुद्दा तीन सय ८ प्रतिशतले बढेको प्रहरीको तथ्यांक छ । गत वर्ष बैंकिङ कसुरसम्बन्धी तीन हजार एक सय ६६ वटा मुद्दा प्रहरीमा दर्ता भएको छ । अघिल्लो वर्ष यो संख्या सात सय ७६ मात्र थियो ।

चेक बाउन्सका घटनालाई प्रहरीले बैंकिङ कसुरमा कारबाही गर्न थालेपछि उजुरीको संख्या बढेको हो । सामान्य लेनदेनका विवाद पनि बैंकिङ कसुरका रूपमा कारबाही हुन थालेको छ । विगतमा यस्तो अपराध चेक अनादार मुद्दा अर्थात् देवानी मुद्दाका रूपमा कारबाही हुने गर्दथ्यो । अहिले फेरि बैंकिङ कसुर ऐन संशोधन गरी चेक बाउन्सलाई देवानी मुद्दामै राख्न छलफल सुरु भएको छ । अघिल्लो वर्ष तीन हजार ८८ वटा लागुऔषध मुद्दा चलाएको प्रहरीले यस वर्ष तीन हजार सात सय दुई पुगेको छ ।

सार्वजनिक अपराध घट्यो
सार्वजनिक अपराधका घटना भने ३८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १४ हजार दुई सय ८३ वटा सार्वजनिक अपराधका मुद्दा प्रहरीले दर्ता गरेकोमा गत वर्ष १० हजार दुई सय ८४ वटा मात्र मुद्दा दर्ता भएका छन् ।

गत वर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताका कारण यस्तो अपराध घटेको हो । संहिता लागू भएपछि कुनै अभियुक्तलाई पक्राउ गर्न प्रहरीले पहिले अदालतको आदेश लिनुपर्ने प्रावधान छ । सामान्य झैझगडा तथा शान्तिसुरक्षामा असर गरेको घटनामा प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाउने गर्छ ।

त्यस्तै, साइबर अपराध एक सयबाट बढेर एक सय ६७ पुगेको छ भने संगठित अपराधका घटना १७ वटाबाट १२ मा घटेको छ । अपहरणका घटना ७७ बाट बढेर एक सय १५ पुगेको छ भने मानव बेचबिखनका मुद्दा तीन सय ८ बाट दुई सय ४८ मा झरेको छ । मानव बेचबिखनसम्बन्धी घटना बढे पनि पीडितले उजुरी दिन कम भएको प्रहरीको भनाइ छ ।

४३ हजार ४७ मुद्दामा गत वर्ष ४० हजार तीन सय ७१ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा ७२।८ प्रतिशत मुद्दामा प्रहरीको दाबीअनुसार फैसला भएको प्रहरी प्रवक्ता पोखरेलले बताए । यो अघिल्लो वर्षभन्दा ४ प्रतिशत धेरै हो ।

एक वर्षको अवधिमा प्रहरीले चार हजार पाँच सय एकजना फरार अपराधी पक्राउ गरी ७३ करोड सात लाख तीन सय ६५ बिगो असुल गरेको छ ।

दैनिक दुई हत्या १५ आत्महत्या
हत्या र आत्महत्याका घटना पनि बढेका छन् । गत वर्ष ६ सय ५९ जनाको हत्या भएको छ । ८० प्रतिशत हत्याका घटना आवेशप्रेरित र आफन्तबाटै हुने गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै, आत्महत्याको संख्या पनि डरलाग्दो रूपमा बढेको छ । एक वर्षमा पाँच हजार सात सय ४९ जनाले आत्महत्या गरेका छन् । अर्थात्, दैनिक औसत १५ व्यक्तिले आफूखुसी ज्यान दिन्छन् । अघिल्लो वर्ष पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए । पारिवारिक तनाव, गरिबी, गम्भीर रोगजस्ता कारणले आत्महत्या बढेको प्रहरीको मूल्यांकन छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।