
लमजुङ । उनीहरू दिउँसो खाना सकेर जलविद्युत् आयोजनाको ‘हेड वर्क्स’ निर्माणमा खटिएका थिए । अचानक पानी पर्न थालेपछि सबैजना वारिपट्टिको बासस्थानतिर दौडिए ।
खोलामा अस्थायी पुल थियो । डडेलधुराको आलिताल–६ सेरीका धनसिंह एडीले पुल तरिसकेका मात्रै के थिए, ढुंगामुढासहितको बाढी उर्लियो । ‘केहीले छोपेजस्तो, सपनाजस्तो लाग्यो । यसो पछि फर्किएँ । सँगैका साथीलाई खोलाले बगाउँदै थियो । म पनि बगेको रहेछु,’ उनले भने, ‘झसंग भएँ । खोलाछेउ रहेछु । हस्याङफस्याङ गर्दै कोदोबारी चढें । साथीहरू गुहार माग्दै थिए, बचाउन सकिएन ।’ बायाँ हात भाँचिएका उनको ढाडमा गम्भीर चोट लागेको छ ।
सँगै हिँडेका एउटै गाउँका रमेश बुढाको शव करिब ४ किलोमिटर तल कीर्तिपुरबेंसीमा फेला पर्यो । सोही गाउँका कर्ण बुढा र कञ्चनपुरका देवबहादुर कोली बेपत्ता छन् । ‘सबैलाई बगाएछ । म बाँचें । अर्को जुनी पाएको छु,’ उनले भने, ‘साथीहरू कोही मरेका, कोही बेपत्ता भएको अस्पताल आएर थाहा पाएँ ।’
खोलाकै माथिल्लो डिलमा कामदारको क्याम्प छ । बाराको कलैया–१६ उत्तर झिटगैयाका अर्जुन शर्मा कोठामै थिए । ‘पानी परेपछि काम गर्न नमिल्ने भएकाले कोठामा साथीहरूसँग बसिरहेको थिएँ । एक्कासि के आयो–आयो,’ उनले भने, ‘बगाएर कता–कता पुर्याएछ । सँगैका साथी कोही छैनन् । ५ जना बाँचेछन्, ४ जनालाई बगाएछ ।’
बाराको जितपुर सिमराका सइद अन्सारी, बाराकै ज्ञानेन्द्र चौधरी, पर्साको पोखरियाका शिवधुन चौधरी, दोर्दी गाउँपालिका–६ का विनोद तामाङ उनीसँगै थिए । सइद र शिवधुनको शव करिब ८ किलोमिटर तल नौथर सेरामा भेटिएको छ । ज्ञानेन्द्र र विनोद बेपत्ता छन् । मृत्यु हुने चार जनामा सप्तरीको सप्तकोसी नगरपालिका–८ का भुवनेश्वर चौधरी पनि रहेको प्रहरीले जनाएको छ ।
बेंसीसहर नगरपालिका ६, चनौटेका अर्जुन आले बिजुलीको तारमा झुन्डिएर बाँच्न सफल भए । ‘खोलामा बाढी आएको खबर बाहिरबाट आउनेबित्तिकै हामी पारि तर्न खोज्यौं । खोला उर्लियो,’ उनले भने, ‘त्यहीबेला बिजुलीको पोल ढल्यो । सानो थुम्को बनाएर राखेको ठाउँमा उभियौं । बिजुलीको तार समात्यौं । त्यही तारले जोगायो ।’
बुधबार दिउँसो साढे २ बजेतिर माथिल्लो क्षेत्रबाट बाढी आएपछि सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ का कर्मचारीले माथिल्लो दोर्दी ‘ए’ का सञ्चालकलाई खबर गरेका थिए । ६ किलोमिटर माथि रहेको क्याम्पमा खबर गरिएको थियो । तत्काल सबैलाई खबर नपुग्दा र मोबाइल सम्पर्क नहुने ठाउँ भएकाले मानवीय क्षति भएको आयोजनाले जनाएको छ ।
बेपत्ता ६, घाइते ८
प्रहरी निरीक्षक वसन्त पाण्डेका अनुसार बेपत्ता ६ जनाको खोजीकार्य भइरहेको छ । बेपत्ता हुने अन्यमा सप्तरीका सुरेन्द्र चौधरी र भोजपुरका दिवस कटुवाल छन् । उनीहरू सबैको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत् आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी गरिरहेका छन् ।
बाढीमा बेंसीसहर नगरपालिका–६ का अर्जुन आले, बाराका अर्जुन शर्मा, कैलालीका रमेश विक, सप्तरीका सुरज सादा, डडेलधुराका धनसिंह एडी, डडेलधुराकै सुरज बुढा, सप्तरीका सन्तोष सरदार र बाराका हरि विक घाइते छन् । आले, शर्मा र विकलाई थप उपचारका लागि न्युरो अस्पताल काठमाडौं लगिएको पाण्डेले बताए । रमेश डिस्चार्ज भएका छन् । बाँकीको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
बाढीले क्षति पुर्याएको ठाउँमा बिहीबार नेता र प्रदेश प्रहरी प्रमुखले निरीक्षण गरेका छन् । सांसद एवं नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङ, गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरे, सशस्त्र प्रहरी प्रमुख डीआईजी बाबुराम पाण्डेलगायतले निरीक्षण गरेका हुन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।












