
काठमाडौं । एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल कापी साटेको पाइएको छ। छानबिन समितिले कसले साटेको हो भनेर निर्क्योल भने निकालेको छैन। थप अध्ययन गर्नुपर्ने निष्कर्ष समितिले निकालेको छ।
राष्ट्रिय परीक्षा बोर्डले भने छानबिन नसकिँदै आरोपित विद्यार्थीको नतिजा प्रकाशन गरेको छ। प्रारम्भिक अध्ययनमा विद्यार्थी दोषी नदेखिएकाले उनको नतिजा प्रकाशन गरिएको बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० विष्णु अधिकारीले बताए। ‘प्रारम्भिक अनुसन्धानमा उत्तरपुस्तिकाको मूल कापी साटिएको देखियो। कसले साटेको हो भन्ने विषयमा यहाँबाट मात्र अध्ययन गर्दा केही पत्ता लागेन’, उनले भने, ‘थप अध्ययनका लागि छानबिन समितिलाई घटनास्थलमै पठाउने निर्णय भएको छ। तर, विद्यार्थीको नतिजा नरोकौं भनेर सार्वजनिक गरेका हौं।’
जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीको उत्तरपुस्तिका साटिएको उजुरी परेपछि बोर्डले छानबिन समिति बनाएको थियो। उनले जुम्लाकै कर्णाली मावि अनामनगरबाट परीक्षा दिएका थिए। बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरिरहँदा उत्तरपुस्तिका साटेको भनी भण्डारीविरुद्ध उजुरी परेको थियो।
उत्तरपुस्तिका साटेको आरोप बलियो देखिएपछि असार १२ गते छानबिन गर्न समिति गठन गरिएको हो। बोर्डकै उपनियन्त्रक चेतनाथ शर्माको संयोजकत्व छन्। घटनामा शिक्षाकै कर्मचारीको संलग्नता रहेको आशंका बोर्डले गरेको छ। समितिले परीक्षा केन्द्रका अध्यक्ष मीन शर्मा र सोही केन्द्रमा परीक्षा निरीक्षक बनेका देवीचन्द्र उपाध्याय र प्रेम हमाललाई काठमाडौं बोलाएर बयान लिएको थियो। उनीहरूले उत्तरपुस्तिका साटिएको विषयमा जानकारी नभएको बताएका थिए।
बोर्डले एसईई नतिजा असार १२ गते सार्वजनिक गरेको थियो। परीक्षामा अनियमितता गर्ने तथा चिट चोरेको थाहा पाइए तत्कालै परीक्षार्थीलाई हलबाट निष्काशन गर्ने चलन छ। भण्डारीको उत्तरपुस्तिक साटिएको विषय भने लामो समय गोप्य थियो।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार नेपाल प्रहरीको सीआईबीलाई छानबिनका लागि अनुरोध गर्ने निर्णय भएको छ। ‘केही समयपछि हाम्रै कर्मचारी सम्बन्धित ठाउँमा जान्छन्’, उनले भने, ‘त्यति गर्दा पनि केही जानकारी आएन भने प्रहरीलाई अनुरोध गर्छौं।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।












