२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

पप्पुले बनाएको पुल प्रतिबन्ध



अ+ अ-

काठमाडौं । टेकु–कालीमाटी आउजाउ गर्दा मुख्य सडससँगै देख्न सकिन्छ, विष्णुमती पुल । तर, त्यो पुलमा करिब ६ महिनादेखि सवारी आवतजावत रोकिएको छ । पुलको बीच भागमा पर्खाल लगाएर पुल प्रयोगमा अवरोध गरिएको हो । यसरी पुल प्रयोगमा अवरोध भने सरकार आफैंले गरेको हो ।
निर्माण कम्पनी पप्पु कन्सट्रक्सनले लापरबाही गरेर निर्माण गरेका कारण पुल कमजोर भएको र मापदण्डविपरीत निर्माण सामग्री प्रयोग गरिएको भन्दै सडक विभागले पुल प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

जेटआईईसी–पप्पु जेभीद्वारा बनाइएको टेकु पुलमा इन्जिनियर (परामर्शदाता)को निर्देशन र ठेक्का मापदण्डअनुसार निर्माण नगरिएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले पुल भत्काएर नयाँ बनाउन निर्देशन दिएको महिनौं बित्दा पनि सरकारको निर्देशन भने बेकामे साबित भइरहेको छ । निर्देशन नटेर्ने निर्माण कम्पनीलाई सरकारले कारबाही गर्नबाट पनि छुट दिँदै आएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले निर्माण कार्यमा गरिएको त्रुटि सच्चाएर पुल बनाउन आग्रह गरिएको बताएको छ । तर, यसरी आग्रह गरिएको करिब ६ महिना नाघिसक्दा पनि काम केही पनि भएको छैन ।
सरकारले ठेक्का सम्झौताअनुसार पुलको भार क्षमता नभएको र ठेक्का सर्तमा उल्लेख गरेभन्दा फरक तरिकाले निर्माण भएको संरचना भत्काई सुुधार गर्न निर्देशन दिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको तत्कालीन दिगो सहरी विकास आयोजनाले २० करोड १३ लाख रुपैयाँमा पुलको ठेक्का लगाएको थियो ।

दिगो सहरी विकास आयोजना र निर्माण कम्पनीबीच २०७१ असारमा ६० मिटर लामो पुल निर्माण गर्ने सम्झौता भएको थियो । पुल निर्माणको समय भने सन् २०१७ को डिसेम्बरमै सकिएको थियो । समय सकिएपछि हतार हतारमा पुल निर्माणको काम सकिएको थियो । पप्पुले सोही पुलबापत २०७५ भदौमै निर्माण सम्पन्न भइसकेको जनाउँदै २ करोड रुपैयाँ भुक्तानी माग गरेको तर डिभिजन कार्यालय काठमाडौंले भुक्तानी दिन अस्वीकार गर्दै आएको छ । दिगो सहरीले गत ३२ साउनमै पहिलो पत्र पठाएर पुल सञ्चालन नगर्न अनुरोध गरेको थियो ।

६० मिटरको पुललाई वारि र पारि जोड्न तीनवटा पिलर बनाउने गरी डिजाइन पास गरिएको थियो । नदीको दायाँ २०, बायाँ १० र बीचमा ३० मिटरको पिलर बनाएर पुल बनाउने ठेक्का सम्झौता छ । २५ मिटरभन्दा कमको पिलर सामान्य प्रक्रियाबाट निर्माण गरिन्छ भने सोभन्दा लामो पिलरमा तारलाई तन्काएर बाँध्नुपर्ने हुन्छ ।

सडक विभागका अनुसार पुल बनाउने क्रममा निर्माण कम्पनीले परामर्शदाता र आयोजनालाई बेवास्ता गर्दै कमसल सामग्री प्रयोग गरेको छ ।
परामर्शदाताले कम गुणस्तरको सामग्री प्रयोग गरेर पुल निर्माण भएको र यसमा गाडी गुड्ने अनुमति नदिन डिभिजन कार्यालय काठमाडौंलाई पत्र लेखेसँगै पुल सञ्चालनमा प्रतिबन्ध लागेको छ । तर, पुनः निर्माणको काम भने अघि बढ्न सकेको छैन ।

संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु बारम्बार विवादमा तानिँदै आएको कम्पनी हो । सडक विभाग, पुल महाशाखाको विवरणअनुसार पप्पु कन्सट्रक्सनले २८ वटा बढी पुलको ठेक्का पाएको छ । तीमध्ये अधिकांश काममा ढिलासुस्ती भएको र सामग्री कम गुणस्तरका प्रयोग भएका छन् । सात वटा पुलको काममा त अनियमितता गरेको भनी पप्पुमाथि छानबिन भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद रौनियार र उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरिसकेको छ ।
सरकारी अधिकारीले सुरुमा कम रकम कबुलेर ठेक्का हातमा लिएको र पछि आयोजना अलपत्र पार्नु पप्पु कम्पनीको विशेषता जस्तै भएको बताउने गरेका छन् ।

यसअघि, निर्धारित समयभन्दा पछि गुणस्तरहीन सडक बनाउने पप्पु कन्सट्रक्सन जेभी नामक निर्माण कम्पनीबाट ५ करोड ५० लाख रुपैयाँ जरिवाना असुल भइसकेको छ । नेपालगन्जको जमुनाहा–राँझा सडकखण्ड निर्माणको जिम्मा पाएको पप्पु कन्सट्रक्सन जेभीले समयमा काम पूरा नगर्नुका साथै न्यून गुणस्तरको काम गरेकाले एसियाली विकास बैंक (एडीबी)ले सो निर्माण कम्पनीबाट ५ करोड ५० लाख रुपैयाँ जरिवाना असुल गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।