२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

खै प्रशासन हाँक्ने कानुन ? मुख्य सचिव पद नै करारमा राख्नुपर्ने



अ+ अ-

काठमाडौं । संघीयता कार्यान्वयनमा आएको चार वर्षसम्म पनि संघीय शासनअनुरूपको प्रशासनिक संयन्त्र तयार हुन सकेको छैन । स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवा ऐन बन्न नसक्दा संघीय शासनअनुरूपको प्रशासनिक संयन्त्र बन्न नसकेको हो ।

एक वर्षअघिदेखि नै तयार पारिएको संघीय निजामती सेवासम्बन्धी विधेयक हाल संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलकै क्रममा छ । समितिमा झन्डै ६ महिनादेखि अड्किँदै आएकाले सो विधेयकले कानुनको रूप लिन नसकेको हो ।

स्थायी सरकारका रूपमा रहेको प्रशासन हाँक्ने कानुन बन्न नसक्दा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन समेत प्रभावकारी रूपमा हुन सकेको छैन । संघीय निजामती सेवा ऐनको अभावमा २७ वर्षअघि बनेको ‘निजामती सेवा ऐन, २०४९’ तथा ‘निजामती सेवा नियमावली, २०५०’ मार्फत कर्मचारी व्यवस्थापनको काम हुँदै आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ माघ २०७५ मा संघीय संसद्मा दर्ता गराएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ६ महिनादेखि संसदीय समितिमा अल्झिएकाले अघि बढ्न नसकेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय संघीय निजामती सेवा ऐन बनाउने विषयमा संसद्मा सांसदले अनावश्यक विषय उठान गर्दा समस्या आएको बताउँछन् । उपाध्यायले सांसदहरूले कर्मचारी र ‘कर्मचारीतन्त्र (पद्धति)’ लाई बुझ्न नसक्दा समस्या उत्पन्न भएको बताए । विधेयकमाथि छलफल हुँदा सांसहरूले मुख्य सचिव पद नै करारमा राख्नुपर्ने, निजामती सेवाभित्र ५० प्रतिशत पद करारमा राख्नुपर्नेजस्ता माग राख्नु प्रशासनलाई अझै अस्थिर बनाउने खेल भएको बताए ।

प्रशासन सबै क्षेत्रको मियो भएको बताउँदै उनले प्रशासनिक वातावरण बिगार्न नहुने तर्क गरे ।

संघीय निजामती ऐन बन्न नसक्दा तीनै तहको कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ । संघीय सरकारले निर्माण गर्नुपर्ने संघीय निजामती सेवा ऐन नबन्दा प्रदेश निजामती सेवाको मापदण्ड, प्रदेश निजामती सेवा तथा स्थानीय सेवा ऐनसम्बन्धी मापदण्ड नबन्दा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव भूपाल बराल तीन वटै कानुन निर्माण हुने चरणमा रहेको बताउँछन् । प्रवक्ता बरालका अनुसार संघीय निजामती सेवासम्बन्धी विधेयक हाल छलफलको क्रममा रहेको र यसले केही समयमै पूर्णता पाउनेछ ।

संघले तयार पारेको मापदण्डअनुसारको कानुन निर्माण गनुपर्ने भएकाले स्थानीय तह र प्रदेशले आफ्नै कानुन निर्माण गरेर कर्मचारी व्यवस्थापन गर्न सकेका छैनन् । संविधानतः प्रदेश तथा स्थानीय तहले कर्मचारी प्रशासनसम्बन्धी कानुन बनाउँदा संघीय सरकारले तयार पारेको नियम तथा मापदण्डमा नबाझिने गरी बनाउनुपर्ने हुन्छ ।

हालसम्म स्थानीय तह र प्रदेशमा कर्मचारी व्यवस्थापनमा आफ्नै नियम बन्न सकेको छैन । अब यी तहले आफ्ना कर्मचारीका लागि नियुक्ति प्रक्रियादेखि सरुवा, बढुवा तथा सुविधासम्बन्धी आफ्नै नियम लागू गर्नुपर्ने हुन्छ ।

सरकारले कर्मचारी समायोजनको काम सम्पन्न गरेसँगै आवश्यक कर्मचारी भर्नाको प्रक्रिया सुरु गरिसकेको छ । प्रदेश लोकसेवा गठन भइनसकेको अवस्थामा केन्द्रीय लोकसेवामार्फत नै कर्मचारी भर्नाको प्रक्रिया सुरु भएको छ ।

स्थानीय तहले माग गरेको कर्मचारी विवरणअनुसार आयोगले ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारीका भर्ना आह्वान गरिसकेको छ । आयोगले मंसिरसम्ममा कर्मचारीसमेत सिफारिस गर्नेछ । यसरी छनोट भएका कर्मचारीको नियुक्ति, हाजिरीलगायत व्यवस्थापनका लागि आवश्यक कानुन समयमै बन्ने अवस्थासमेत नदेखिएको प्रशासनका जानकारको भनाइ रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।