२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो पनि परिक्षण ! आँखाले हेरेको भरमा छोडिन्छ तरकारी



अ+ अ-

रसुवा । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी भएर आउने सामान भने आँखाले हेरेको भरमा छोड्नु परेको छ।

चीनबाट रसुवागढी नाका भएर यो वर्ष करिब चार अर्ब रुपैयाँका कृषिजन्य सामान आयात भएका छन्। बर्सेनि आयातको मात्रा बढ्दै गएको छ। तर, यो नाकामा कुनै पनि पूर्वाधार र उपकरण नहुँदा प्राविधिक कर्मचारीले विषादी भए, नभएको र रोग किरा लागे, नलागेको आँखाले हेरेर छोड्नु परेको छ। २१औं शताब्दी भए पनि परीक्षण आदिमकालको जस्तै छ।

वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले चीनबाट कृषि तथा वनजन्य सामग्री भित्रने क्रम बढे पनि नाकामा विषादी परीक्षण हुन नसकेको बताए। ‘नाकाबाट रोग, किरा तथा झारपात भित्रन नदिन आँखाले हेरेर छोड्ने गरिएको छ,’ घिमिरेले आइतबार नागरिकसँग भने, ‘पूर्वाधार र आवश्यक उपकरण नहुँदा चाहना नहुँदा–नहुँदै पनि त्यसै छोडनु परेको छ।’
घिमिरेका अनुसार आयातित वस्तुको लक्षण हेरेर रोग भए, नभएको पत्ता लगाउने गरिएको छ। ‘स्याउमा २७ प्रकारका किरा र तीन प्रकारका रोग लाग्छन्,’ उनले भने, ‘यसको लक्षण हामीलाई थाहा हुन्छ। शंका लागेको खण्डमा ल्याबमा पठाउने गरिएको छ।’

रसुवागढी नाकाबाट चार वर्षदेखि आयात–निर्यात कारोबार भइरहेको छ। तर, विषादी परीक्षण अझै सुरु गरिएको छैन। चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेर आफ्नोतर्फ पूर्वाधार तथा प्रविधिको विकास गरिसकेको छ। नेपालले भने यी दुवै कुराको विकास हुन सकेको छैन। तैपनि सरकारले यो नाकालाई उच्च प्राथमिकता दिएको बताउँदै आएको छ। यही नाका हुँदै चीनबाट रेल ल्याउने सरकारको तयारी छ। यसका लागि चीनका प्राविधिकहरुले दुई–तीन पटक यस क्षेत्रको भौगोलिक अवस्था र लगानीको सम्भावनाबारे अध्ययन गरिसकेका छन्।

सरकारले चीनबाट सामग्री आयात गर्दा बिरुवा स्वस्थताको प्रमाणपत्र (फाइटोस्यानिटरी सर्टिफिकेट) अनिवार्य गरेको छ। गत चैतदेखि यसलाई अनिवार्य गरिएको हो। आयातकर्ताले इन्ट्री पर्मिट पाउँछन्। इन्ट्री पर्मिट पाएपछि सर्टिफिकेटमा भनिएजस्तै सामग्री ल्याउनुपर्छ।

सोही अनुसारको सामग्री आए, नआएको निरीक्षण गरेपछि मात्रै छोडपुर्जी दिने गरिएको उनले बताए। ‘यसअघि आएका सामग्री निरीक्षण गर्ने गरिएको थिएन,’ उनले भने, ‘अहिले सामग्री हेरेर मात्रै छाड्ने गरिएको छ।’

उनका अनुसार फाइटोस्यानिटरी सर्टिफिकेट र निरीक्षण केही महिनाअघि सुरु भएको हो। कृषिजन्य सामग्री आयात गर्दा भित्रन सक्ने रोग, किरा र झारपातको सामान्य परीक्षण गर्ने गरिएको छ। किराहरू माइक्रोस्कोपबाट हेर्ने गरिन्छ। तर विषादीको अवशेषबारे कुनै पनि परीक्षण गर्ने गरिएको छैन।

चालु आर्थिक वर्षको जेठसम्ममा यो नाकाबाट तीन अर्ब ८१ करोड ४७ लाख १८ हजार रुपैयाँ बराबरको कृषिजन्य सामग्री आयात भएको छ। यो नाकाबाट भित्रिनेमा सबैभन्दा बढी चिनियाँ स्याउ छ। दोस्रोमा लसुन आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाको तथ्यांक छ। साउनदेखि जेठ मसान्तसम्ममा तीन अर्ब १५ करोड मूल्य बराबरको स्याउ, ४५ करोड १७ लाख बराबरको लसुन, ६ करोड ५५ लाखको ओखर, दुई करोड २१ लाख मूल्य बराबरको अदुवा आयात भएको कार्यालयले जनाएको छ। यो नाका हुँदै स्याउ, लसुन, ओखर, अदुवा, गहुँको पिठो, नासपाती, बकुल्ला, माछाको दाना, डोमा, धानको बीउ, जिम्बुलगायत सामग्री भित्रने गरेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।