२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्ती गर्ने परीक्षक अन्याय भोग्ने परीक्षार्थी



अ+ अ-

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षकले परीक्षार्थीको प्राप्ताङ्क जोड्न गल्ती गर्ने गरेको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयले गरेको अध्ययनबाट यस्तो तथ्य फेला परेको हो ।
अध्ययनले सबैभन्दा बढी गल्ती गर्ने व्यक्तिका रूपमा परीक्षकलाई ठहर्याएको छ । नतिजाप्रति चित्त नबुझाई पुनर्योगका लागि आवेदन दिएका कतिपय परीक्षार्थीको प्राप्ताङ्क परिवर्तन हुने गरेको छ । प्राप्ताङ्क परिवर्तन भएकाका एक हजार २०४ वटा उत्तरपुस्तिकामाथि गरिएको अध्ययनले परीक्षकको गल्ती ६३ प्रतिशत रहेको औँल्याएको छ ।

सबैभन्दा बढी ४२ प्रतिशत गल्ती कभर पेजमा अङ्क चढाउन छुटेको पाइएको छ । अध्ययन गरिएका उत्तरपुस्तिकाको १८ प्रतिशतमा प्राप्ताङ्कको जोड नै गलत गरेको देखिएको छ । डिकोडिङ बिग्रिएको, झट्ट पढ्न नसकिने अङ्क, परीक्षण गर्न छुटेको, अङ्क यताउता पारी लेखिएको, सम्परीक्षकले गलत अङ्क लेखेको, इन्ट्री गलत गरेको लगायतका गल्ती देखिएका छन् । परीक्षकले गल्ती गर्ने प्रवृत्ति विगतदेखिकै हो । उनीहरूको लापरबाहीले गर्दा परीक्षार्थीहरू अन्यायमा पर्दै आएका छन् । पुनर्योगका लागि आवेदन दिई नतिजा परिवर्तन भएकाहरूले न्याय पाए पनि नतिजाप्रति चित्त बुझाउनेहरूमाथि परीक्षकले अन्याय गर्दै आएका छन् ।

लामो समयसम्म परीक्षा नियन्त्रण कार्यालयमा सेवा गर्नुभएका पूर्वपरीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षक र सम्परीक्षकले गल्ती गर्ने गरेको बताउँदै भन्नुभयो, “धेरै परीक्षकले प्राप्ताङ्क चढाउँदा नै गल्ती गर्छन् । कतिपयले उत्तर जाँच्न छाडिदिन्छन् । टेबुलेसनको अङ्क जोड्न छुटाउँछन् । उनीहरूको लापरबाहीले यस्तो हुँदै आएको छ ।”

२०७५ सालको एसईई परीक्षाको नतिजाप्रति चित्त नबुझाएर आवेदन दिनेहरूको लाम पनिकामा बाक्लै देख्न पाइन्छ ।

यस पटक चार जनाले आठवटै विषयमा पुनर्योगका लागि आवेदन दिएका छन् ।

पनिकामा मङ्गलबारसम्म करिब छ हजारले आवेदन दिएको जानकारी दिइएको छ । गत वर्ष नौ हजारले आवेदन दिएकोमा ८२७ जनाको प्राप्ताङ्क परिवर्तन भएको थियो । पनिकाको अध्ययनले सबैभन्दा बढी गल्ती गर्ने परीक्षकपछि डिकोडर र सम्परीक्षक रहेको देखाएको छ ।

पनिकाका कर्मचारीको गल्ती पनि देखिएको छ । विद्यार्थीका कारण पनि गल्ती हुने गरेको पाइएको छ । सोही अध्ययनले परीक्षकले अङ्क चढाउँदा सबैभन्दा बढी गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ । परीक्षकले गर्ने गरेको गल्तीको ६७ प्रतिशत अङ्क चढाउँदा गल्ती हुने गरेको छ । झण्डै २९ प्रतिशत गल्ती परीक्षकले प्राप्ताङ्क जोड्दा हुने गरेको छ ।

परीक्षकले गरेको गल्तीलाई सच्याउन सम्परीक्षकको व्यवस्था हुने गरेको छ तर सम्परीक्षकले पनि निकै लापरबाही गर्ने गरेको पाइएको छ । सोही अध्ययनले सम्परीक्षकले अङ्क नै नबुझिने गरी लेख्दा, परीक्षण छुटाउँदा र अङ्क यताउता लेखेका कारण प्राप्ताङ्क परिवर्तन भएको प्रस्ट गरेको छ । “परीक्षक र सम्परीक्षकले बाहिरी पानामा लेखेको कुल प्राप्ताङ्क पढ्न नसकिने उल्लेख्य मात्रामा रहेको पाइन्छ”, पनिकाको अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

पनिकाको अध्ययनबाहेक व्यवस्थापन विषयका प्राध्यापक डा. अमुदा श्रेष्ठको संयोजकत्वमा गत वर्ष गठित कार्यदलले पनि नमुनाका रूपमा केही उत्तरपुस्तिका अध्ययन गरेको थियो । सो अध्ययनका क्रममा पनि परीक्षकको गल्ती बढी फेला पारिएको थियो । डा. श्रेष्ठले उत्तरपुस्तिका परीक्षणमा गल्ती हुनुलाई मानवीय कमजोरीको संज्ञा दिँदै भन्नुभयो, “विद्यार्थीले पनि गल्ती गर्ने गरेको पायौँ । उत्तरपुस्तिका परीक्षणमा बढी सजग र संवेदनशील हुनुपर्ने सुझाव दिएका थियौँ ।”

पनिकाले अध्ययनपछि परीक्षक तथा सम्परीक्षकलाई उत्तरपुस्तिका परीक्षणका क्रममा अनिवार्य रूपमा भित्रको अङ्क दोहो¥याएर जोड्न लगाएपछि मात्र प्राप्ताङ्क महलमा लेख्न लगाउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सिफारिस गरेको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले सबैले गम्भीर रूपमा जिम्मेवारी पूरा नगरिँदिदा गल्ती हुने गरेको बताउँदै भन्नुभयो, “समान्य त्रुटि गर्नेलाई कारबाही गरिएको अवस्था छैन । ठूलो गल्ती गर्नेलाई कालो सूचीमा राख्ने भन्ने छ तर त्यस्तो अवस्था आइसकेको छैन । सामान्य गल्तीलाई मानवीय त्रुटिका रूपमा लिने चलन छ ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।