
काठमाडौं । यो नियम रामेछापको मन्थली नगरपालिका–६ सिम्पानी गाउँको हो । २९ घरधुरी रहेको गाउँमा खानेपानीको चरम अभाव भएपछि गाउँलेले नै यस्तो नियम बनाएका हुन् । गाउँको तीनधारा पँधेरामा ट्यांकी निर्माण गरिएको छ । रातभर र दिनभर धारामा ताल्चा मारेर पानी जम्मा गरिन्छ । बिहान ४ देखि ६ बजेसम्म दुई घन्टा मात्रै ताल्चा खोलेर पानी थापिन्छ । प्रत्येक घरले एक गाग्रीका दरले पानी थाप्दा पालो नआउनेले भोलिपल्टसम्म कुर्नुपर्छ । स्थानीय चेतबहादुर श्रेष्ठका अनुसार यो अहिलेको होइन, १४ वर्षदेखिको नियति हो । कुनै घरमा विवाह हुँदा वा मृत्यु हुँदा मात्रै थप दुई घन्टा धारो खोलिन्छ ।
कसैले रातभर पानी भरेर रित्याउने, कसैले एक थोपो पनि नपाउने अवस्था आएपछि सहमतिमै ताल्चा ठोक्ने नियम राखिएको स्थानीय दुर्गा श्रेष्ठले बताइन् । तर, एक गाग्री पानीले कुनै घरको पनि गुजारा चल्दैन । एक परिवारलाई दैनिक १०–१५ गाग्री चाहिन्छ । त्यसैले थप पानी लिन दुई घन्टा हिँडेर तल कमेरे खोलामा पुग्छन् गाउँले । तर, खोलाको पानी धमिलो र सानो छ । दुई–तीन घन्टासम्म पालो कुरेर ल्याउनुपर्छ । पैसा हुनेहरू भने ट्याक्टरमा बोकाएर ल्याएको पानी किनेर गुजारा चलाउँछन् ।
पानीको हाहाकार भएपछि सिम्पानीका धेरैले घरका बस्तुभाउ पनि बेचेका छन् । कतिपयले एक–एक गोरु पालेर जोत्ने वेला हल मिलाउने गरेका छन् । पानीकै दुःखले धेरै घर यहाँबाट बसाइँ सरिसकेको चेतबहादुरले सुनाए ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा पानीको संकटले बुहारी भित्र्याउनै गाह्रो, दुःख हुन्छ भनेर छोरी दिन मान्दैनन्
उदयपुरको महाभारत शृंखलामा पर्ने पहाडी बस्तीहरूमा पानीको यति धेरै हाहाकार छ कि यहाँको समस्या थाहा पाएकाहरूले छोरी दिनै मान्दैनन् । पानीको समस्याकै कारण गढी, भञ्ज्याङ, कटहरे, सुन्तले क्षेत्रमा बुहारी भित्र्याउनै समस्या परेको टंक तामाङले सुनाए । ‘पानी लिन राति ३ बजे नै उठेर देवीथान वा कालापानी कुवामा पुग्नुपर्छ । बिहानभर पालोमा बसेर ल्याउनुपर्छ,’ टंकले भने, ‘दुःख पाउने भन्दै छिमेकी गाउँका अभिभावक यहाँका केटालाई छोरी दिन मान्दैनन् ।’ करिब डेढ सय घरपरिवार पानीकै समस्याका कारण बसाइँ सरेका छन् । गढी क्षेत्रका बालबालिका बिहान पानी लिन जाँदा स्कुल नै छुट्ने गरेको छ । ‘बिहान ५ बजे घरबाट निस्किँदा पनि पानी लिएर फर्किँदा १० बज्छ,’ कक्षा ४ मा पढ्ने निशा र माया तामाङले भने, ‘आमा पँधेरो जाँदा मात्रै स्कुल जान पाइन्छ, हामी गयौँ भने स्कुल छुट्छ ।’
सात घन्टा कुरेर एक गाग्री पानी, महिला राति नै उठेर धारामा पुग्छन्, पालोमा गाग्री राखेर चौरमै सुत्छन्
ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ पलापुकी सुनमाया मगर राति ३ बजेअघि नै उठेर गाग्री टिपेर पलापु भञ्ज्याङस्थित धारातिर कुद्छिन् । एक गाग्री पानी भरेर घर फर्किँदा १० बज्छ । ‘बिहान ४ देखि ९ बजेसम्म पाँच घन्टा र साँझ पनि ४ देखि ७ बजेसम्म तीन घन्टा पानी थाप्न पाइन्छ । हरेक दिन एक परिवारको भागमा दुई गाग्री पानी पर्छ । तर, गाग्री पालोमा राख्न पहिल्यै नपुगे आस नगरे हुन्छ,’ सुनमायाले सुनाइन्, ‘राति ३ बजेअघि नै उठेर धारामा पुग्छु, एक गाग्री पानी भरेर घर फर्किँदा १० बज्छ । कहिलेकाहीँ त पालो नआएर रित्तै फर्किनुपर्छ ।’ यहाँ ११ सय परिवारका ६ हजारभन्दा बढी मानिस बसोवास गर्छन् । आफूहरूलाई देशमा सरकार भएको अनुभूति नभएको युवाहरूको गुनासो छ । ‘यो देशमा सरकार छ, तर हामीलाई कहिल्यै देख्दैन, हाम्रो आवश्यकता कहिल्यै बुझ्दैन,’ मिलन मगरले गुनासो पोखेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












