२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथलेटिक्स कीर्तिमानी चौधरी भन्नुहुन्छः सपना बोकेर आएको थिएँ, असाध्यै खुसी छु



अ+ अ-

कास्की । बर्दियाकी २४ वर्षीया सरस्वती चौधरीले खेल्न सुरु गरेको १२ वर्षभन्दा बढी भयो । विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर उहाँले जिल्लास्तरीय प्रतियोगिता खेल्न सुरु गर्नुभयो ।

जिल्लामा राम्रो गरेपछि उहाँ विभागीय टोलीको नजरमा पुर्नभयो । नेपाली सेनामा आबद्ध भएपछि चौधरीलाई खेलका लागि अझ राम्रो वातावरण मिल्यो । विभागीय टोलीमा रहेर खेलकुदमा केन्द्रित भएर लागिरहँदा चौधरीको खेल जीवनमा आज ठूलो सफलता मिलेको छ ।

पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला १०० मिटर दौडमा यसअघिको कीर्तिमान तोड्दै सरस्वतीले स्वर्ण पदक जित्नुभएपछि उहाँ असाध्यै खुशी हुनुहुन्छ ।

सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाउँदा उहाँको खेल जीवनमा उत्साह थपिएको छ । यसअघि हिटमा लुम्बिनी प्रदेशका निशा चौधरीले १२ दशमलव १५ सेकेण्डको कीर्तिमानलाई फाइनलमा सरस्वतीले तोड्नुभयो । निशाले निर्धारित दूरी पूरा गर्न १२ दशमलव २२ सेकेण्डको समय लगाउनुभएको थियो ।

यसअघि देवीमाया पनेरुको नाममा रहेको १२ दशमलव १९ सेकेन्डको राष्ट्रिय कीर्तिमान निशाले १२ दशमलव १५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाउनुभएको थियो । यसअघि दाङमा भएको आठौँ राष्ट्रिय खेलकुदमा पनि उहाँले स्वर्ण पदक हासिल गर्नुभएको थियो । त्यसबेला उहाँले १२ दशमलव १९ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । आठौँदेखि नै उहाँको मनमा नयाँ कीर्तिमान कायम गर्नुपर्दछ भन्ने लागिरह्यो तर उहाँ ठ्याक्कै आजै रेकर्ड राख्छु भन्ने चाहिँ नसोचेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “जिल्लास्तरीय खेल्दादेखि नै सबैले तिमीले राम्रो गर्छौ, भन्नुहुन्थ्यो, आफूलाई कमजोर सोचेको थिइनँ । राष्ट्रिय कीर्तिमानको सपना बोकेर नै प्रतियोगिता खेल्न आएको हुँ । सक्छु कि सक्दिन भनेर मनमा लागिरहन्थ्यो । कीर्तिमान बनाउँदा अहिले असाध्यै खुशी छु ।”

चौधरी आफ्नो खेल जीवनको सफलतामा धेरै गुरुको साथ रहेको बताउनुहुन्छ । कीर्तिमान राख्नका लागि ठूलो मेहनत गरेको भन्दै उहाँले यसलाई कायमै राख्न थप मेहनत गर्ने बताउनुभयो ।

“जिल्लास्तरीय प्रतियोगितामा विद्यालयबाट विक्रमचन्द्र गुरुले ल्याउनुभयो । पछि आर्मीमा जोइन भएपछि त्यहाँ खेलको राम्रो वातावरण बन्यो, पछि ओलम्पिकसमेत खेलेँ”, चौधरीले भन्नुभयो । उहाँ विसं २०७४ देखि विभागीय नेपाली सेनामा आबद्ध हुनुहुन्छ ।

यसैगरी पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरीको एपिएफका शिवराज पार्कीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नुभएको छ । उहाँले निर्धारित दौड १० दशमलव ५६ सेकेण्डमा पूरा गर्नुभयो । पार्कीले यसअघि सन् १९९९ मा रामकृष्ण चौधरीले १० दशमलव ७१ सेकेण्डको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गर्नुभएको हो । एथलेलिक्टमा एकैदिन सात स्वर्ण पदकको छिनोफानो भएको छ ।

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आजदेखि पोखरामा थप विभिन्न १२ खेल भएका छन् । असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु भएका हुन् । प्रतियोगिताअन्तर्गतका केही खेल असोज २३ देखि नै सुरु भएका थिए । अधिकांश प्रदेशका आठ जिल्लामा खेल भइरहेका छन् ।

आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । रासस