२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुदः आर्चरीमा फाइनल समीकरण पूरा



अ+ अ-

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा फाइनल खेलको समीकरण पूरा भएको छ । आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ मेन सिङ्गल र रिकर्भ वुमन सिङ्गल तथा स्टाण्डर्ड मेन टिम र वुमन टिमको फाइनल समीकरण तयार भएको हो ।

कम्पाउण्ड मेन सिङ्गलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल पुग्नुभएको छ । जागृतले सुदूरपश्चिमका सुरेश गुरुङलाई एक सय ३६ का विरुद्ध एक सय ४४ स्कोरले हराउनुभएको हो । फाइनलमा गण्डकीकै दुई खेलाडी हुनुभएपछि यस विधामा गण्डकीलाई स्वर्ण र रजत पक्का भएको छ ।

यस्तै गण्डकीका ख्यामले एपिएफएका रमेश भट्टचनलाई १४१–१३५ स्कोरमा पराजित गर्दै जागृतसँगको भेट पक्का गर्नुभएको हो । कम्पाउण्ड वुमन सिङ्गलतर्फ एपिएफकी पार्षदा आचार्य र आर्मीकी इमायुङ राई फाइनल पुग्नुभएको छ । पार्षदाले गण्डकीकी मोनिका रानालाई १३४–१०९ स्कोरले हराउनुभयो । यस्तै इमायुङले एपिएफकी निर्मला कानवाङ राईलाई १३०–१२२ स्कोरले पछि पार्नुभयो ।

रिकर्भ मेन सिङ्गलतर्फ गण्डकीका गङ्गाबहादुर कुँवर र पुलिसका तिलक पुन फाइनल पुग्नुभएको छ । गङ्गाले एपिएफका विराट थापालाई ६–४ अङ्कले हराउनुभएको हो । यस्तै तिलकले गण्डकीका असिम शेरचनलाई ६–४ अङ्कले पराजित गर्दै फाइनलमा स्थान बनाउनुभएको हो ।

रिकर्भ वुमन सिङ्गलतर्फ गण्डकीकी रोजिना थापामगरले आर्मीकी ज्ञानु अवालेलाई ६–४ स्कोरले हराउनुभयो । यस्तै आर्मीकी मञ्जु बजगाईँले गण्डकीका रश्मी दर्लामीलाई सोझो तीन सेटमा ९६–०० पराजित गर्नुभयो ।

स्टान्डर्ड मेन टिमतर्फ गण्डकी र सुदूरपश्चिम उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदा वुमन टिमतर्फ प्रदेश नं १ र आर्मी खेल्नेछ । मेन टिमको पहिलो सेमिफाइनलमा गण्डकीले प्रदेश नं १ लाई ५–१ अङ्कले हराएको हो । यस्तै अर्को खेलमा सुदूरपश्चिमले नेपाल पुलिसलाई ६–४ अङ्कले हराउँदै फाइनल पुगेको हो ।

स्टान्डर्ड वुमन टिमतर्फ प्रदेश नं १ ले गण्डकी प्रदेशलाई ६–० अङ्कले सोझो तीन सेटमा हरायो । यस्तै आर्मीले पनि एपिएफलाई सोझो तीन सेट ९६–००ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो । राष्ट्रिय खेलकुदमा पाँचौँ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा योपटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको छ । खेलमा पाँच प्रदेश, तीन विभागीय र एनआरएनए गरी नौ टिमको सहभागिता रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् । मधेस र कर्णालीको भने सहभागिता रहेन ।

भारत्तोलनमा सदूूरपश्चिमलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भएको पुरुष ७३ केजी तौल समूहमा सुदूरपश्चिमका हेमन्त पालले स्वर्ण जित्नुभएको हो । उहाँले स्न्याचमा ९० र क्लिन एण्ड जर्कमा एक सय सात गरी कुल एक सय ९७ केजी भारबहन गर्नुभएको थियो ।

यस्तै नेपाल पुलिसका अशोककुमार साहले रजत र एपिएफका राहुलकुमार दासले कास्य जित्नुभयो । अशोकले स्न्याचमा ८१ र क्लिन एण्ड जर्कमा एक सय आठ गरी कुल एक सय ८९ केजी भारबहन गर्नुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ले बताउनुभयो । राहुलले स्न्याचमा ८३ र क्लिन एण्ड जर्कमा एक सय पाँच गरी कुल एक सय ८८ केजी भारबहन गर्नभएको थियो । त्यसअघि सम्पन्न तीन खेलमा नेपाल आर्मीले दुई र नेपाल पुलिसले एक स्वर्ण थपेको छ । हालसम्म सम्पन्न आठ इभेन्टतर्फ विभागीय टिम नै हाबी छन् । जसमध्ये पुलिसले चार, आर्मीले तीन र सुदूरको एक स्वर्ण आएको छ ।