२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाडः पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा



अ+ अ-

नेपालका खेलाडीहरूले भरमग्दुर प्रयत्न गरे पनि चीनको हान्झाउमा जारी एसियाडमा कुनै पनि खेलमा नेपाली खेलाडीले पदक ल्याउने सम्भावना झिनो बन्दै गएको छ । बिहीबारका खेलहरूमा नेपालको प्रदर्शन निम्न बमोजिम छः

पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा

हाङझाउमा नेपाल जारी १९औं एसियाली खेलकुदमा पुरुष टिम ब्याडमिन्टनको क्वार्टरफाइनलमा पुगेको छ । बिनजियाङ जिम्नाजियम कोर्टमा बिहीबार भएको अन्तिम १६ को खेलमा नेपालले मंगोलियालाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइ खानलाई तथा सुनिल जोशीले खुबितुगुल्दर ब्यामभाजभलाई समान २–० को सेटमा हराए । प्रिन्सले २१–८, २१–१४ र सुनिल २१–११, २१–७ ले हराउँदै अग्रता बनाए । तर, विष्णु कटुवालले एकलमा नै सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो ।

विष्णुले उक्त खेल २१–२३, २४–२२, १७–२१ ले गुमाए । यद्यपि, प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० को सेटमा हराउँदै मंगोलियाको योजना सफल हुन दिएनन् । प्रिन्स र विष्णुको जोडीले मंगोलियाको जोडीलाई २१–८, २१–९ ले हराए । महिला टिम ब्याडमिन्टनमा भने माल्दिभ्ससँग ३–१ ले पराजित भएको छ । महिला एकलमा रसिला महर्जन माल्दिभ्सकी नभाह माथिमाथ रजाकसँग २४–२१, १९–२१ र २१–१३ ले पराजित भएपछि नेपाली महिला टोली सुरुमा नै पछि प¥यो ।

दोस्रो खेलमा नङ्सल तामाङ पनि नाबिहा अमिनाथसँग २१–१६ र २१–१० ले पराजि भएपछि माल्दिभ्स जित नजिक पुग्यो । महिला एकलको अर्को खेलमा अनुमाया राईले अफनान रसिदलाई २१–९ र २१–११ ले हराउँदै पुनरागमनको संकेत गरिन् । तर, महिला डबल्समा अनुमाया र रसिलाको जोडी माल्दिभ्सकी नभाह र नाबिहाको जोडीसँग २१–१६ र २१–१० ले पराजित भएपछि नेपाली महिला टोली हार बेहो¥यो ।

दोस्रो खेलमा बक्सर रबिन पराजित

नेपालका बक्सर रबिन थापा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् । हानझाओ जिम्नाजियममा भएको बक्सिमा पुरुष ४५–५१ केजी तौलसमूहको अन्तिम १६ को खेलमा थापा उत्तर कोरियाका बक्सर चोनरियोङसँग ५–० ले पराजित भएका हुन् । पहिलो खेलमा इन्डोनेसियाका कोइबानु डियोलाई हराउँदै सुखद सुरुआत गरेका थापाको चुनौती पनि अन्तिम १६ पार गर्न सकेन । जारी एसियाडमा बिहीबारसम्म एक फाइट जित्ने उनी पहिलो बक्सर हुन् । लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौती तय थियो र अब दुई खेलाडीले खेल्न बाँकी छ ।

महिला ५७ केजीमुनि तौलसमूहमा चन्द्रकला थापाले अन्तिम १६ मा थाइल्यान्डकी बुएपा पोन्र्टिपसँग खेल्नेछिन् । महिला ७५ केजीको क्वार्टरफाइनलमा सरस्वती रानाले भियतनामकी लु डिइमसँग खेल्दैछिन् । चन्द्रकलाले शुक्रबार र सरस्वतीले शनिबार आ–आफ्नो प्रतिस्पर्धा चुनौती प्रस्तुत गर्ने तय छ ।

पुरुष स्क्वास टोली भारतसँग पराजित

नेपालको पुरुष स्क्वास टोली जारी १९औं एसियाली खेलकुदमा भारतीय टोलीसँग पराजित भएको छ । एचओसी स्क्वास कोर्टमा बिहीबा भएको पुरुष टिम गेममा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको हो । सिंगल्सको पहिलो खेलमा अमृत थापामगरले भारतका अभय सिंहसँग ११–२, ११–४ र ११–१ ले हार बेहोरे । अर्को खेलमा अराहन्त केशर सिंहले महेश मान्गोनकरसँग ११–२, ११–३ र ११–३ ले पराजित भएपछि भारतले २–० अग्रता लियो । तेस्रो खेलमा पनि अमिर ब्लोनले हरिन्दर पाल सिंहसँग ११–१, ११–२ र ११–६ ले भएपछि भारतले ३–० को सोझो सेटमा नतिजा आफ्नो बनायो ।

अनुशिया हिटबाटै बाहिरिन्

पौडीतर्फ नेपालकी अनुशिया तन्डुकार हिट चरणबाटै बाहिरिइन् । महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा उनले २९.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । हिट एकमा प्रतिस्पर्धा गरेकी अनुशियाले आप्नो हिटमा तेस्रो स्थानमा रहेपनि अघिल्लो चरणमा पुग्न सकिनन् । उनी समग्रमा २६औं स्थानमा रहे ।

टेबल टेनिसमा नविता र सिख्खा पराजित

टेबल टेनिसमा महिला सिंगल्सतर्फ नेपालकी नविता श्रेष्ठ र सिक्का सुवाल श्रेष्ठ बिहीबार पराजित भएका छन् ।

नविता अन्तिम ३२ को खेलमा भारतकी मनिका बात्रासँग ४–० ले पराजित भइन् । मनिकाले नवितालाई ११–५, ११–४, ११–३, ११–२ ले हराइन् । महिला सिंगल्समै अन्तिम ३२ को खेलमा नेपालकी सिक्का सुवाल जापानकी मिउ हिरानोसँग ४–० ले नै पराजित भइन् । मिउ हिरानोले सिक्कालाई ११–५, ११–४, ११–३, ११–२ ले पराजित गरिन् । यस्तै महिला डबल्समा पनि नविता र सिक्काकै जोडी पराजित भए । यो जोडी चीनका मेङ चेन र यिदी वाङको जोडीसँग ४–० ले पराजित भए । उक्त खेल चिनियाँ जोडी ११–३, ११–४, ११–१ ले पराजित भए ।

फेन्सिङः पुरुष र महिला टिममा पराजित

एसियाडअन्तर्गत बिहीबार फेन्सिङमा नेपालको पुरुष र महिला टिम दुवै पराजित भएको छ । पुरुष साब्रे टिम कजाखस्तानसँग ४५–१५ ले पराजित भयो । यस्तै महिला फोइल टिम क्वाटरफाइनलमा जापानसँग ४५–१० ले पराजित हुँदै बाहिरियो ।

महिला फुटबलः नेपाल र बंगलादेशको बराबरी

महिला फुटबलमा बिहीबार बंगलादेशसँग १/१ को बराबरी खेलेको छ ।

रेखा पौडेलले खेलको अन्त्यतिर गोल गरेपछि नेपालले बंगलादेशसँग बराबरी गरेको हो । समूह ‘डी’ को खेलमा बंगलादेशले पहिलो हाफमा अग्रता लिएको थियो । तर, नेपालले अन्तिम समयमा पुनरागमन ग¥यो । सबिना खातुनले ४४औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा पछि परेको नेपालका लागि रेखाले ८२औं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्काइन् ।

नेपाल र बंगलादेशले यस अघि नै दुई खेलमा हार बेहोरेकोले यो खेल प्रतिष्ठाको लागि मात्र थियो । दुवै टोली यसअघि जापान र भियतनामसँग पराजित भएकी हुन् । पहिलो खेलमा भियतनामसँग २–० पराजित भएको नेपाल दोस्रो खेलमा पूर्वविश्व विजेता जापानसँग भने ८–० को फराकिलो हार सामना ग¥यो । नेपाली महिला फुटबल टोली पहिलोपटक एसियाडमा सहभागी भएको हो ।

गल्फः पहिला दिन सन्तोषजनक प्रदर्शन

गल्फको व्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोषजनक खेल प्रदर्शन गरेको छ ।

पार ७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा पहिलो दिन शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी समग्रमा ३१औं स्थानमा छन् । नेपालले पदकको आशा गरेको सद्भाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले इभन पार ७२ मा पहिलो दिनको खेल सकाए । सद्भाव समग्रमा ३८औं र सुवास ४७औं स्थानमा छन् । दुई ओभर ७४ खेलेका युवराज भुजेल ५८औं स्थानमा छन् ।

पुरुषतर्फ पहिलो दिन शीर्ष स्थानमा रहेका कोरियाका जाङ युविनको ११ अन्डर ६१ स्कोर छ । महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ समग्रमा ३६औं स्थानमा छिन् । २० ओभर ९२ खेलेकी कस्मिरा शाह समग्रमा ३८औं स्थानमा छिन् । महिलातर्फ ३९ खेलाडी सहभागी गल्फमा शीर्ष स्थानका रहेकी जापानकी बाबा साकीको सात अन्डर ६५ स्कोर छ । ( रा खे प को सहयोगमा )