काठमाडौ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले गर्नुभएका पछिल्लो निर्णयहरु सच्याउन माग गर्दै पार्टी कार्यालयमा विरोधपत्र दर्ता गराएको छ । महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापति देउवाले विधान विपरित विभिन्न विभाग गठन गरेको लगायतका सबै निर्णय सच्याउन माग गर्दै पार्टी कार्यालय सानेपामा विरोधपत्र दर्ता गराएका हुन् ।
पौडेल समूहले पार्टीलाई विधानसम्मत सञ्चालन गरी महाधिवेशनलाई स्वच्छ र निष्पक्ष गरिकाले सम्पन्न गर्ने वातावरण बनाउन समेत माग गरेको छ । पौडेल समूहले असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि नै आफ्ना सबै माग पुरा नगरे संघर्षका कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ । विरोधपत्र दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेता नविन्द्रराज जोशिले महाधिवेसनलाई निश्चित समयमै निस्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न गर्न दवाव स्वरुप विरोधपत्र दर्ता गराएको बताउनुभयो ।
सभापति देउवाले विधान विपरित २८ वटा विभागलाई ४८ पु¥याएको, विभागको जिम्मेवारी दिएर पार्टीका जिम्मेवार नेताहरुलाई नै अपहेलना गरेको बताउनुभयो । सरकारले गरेका गलत कामहरुको सम्बन्धमा पार्टीले राजनीतिक कार्यक्रम लिएर सडक देखि सदन सम्म विरोध गर्न नसकेको समेत उहाँले बताउनुभयो । उहाँले आफुहरुले राखेका माग पुरा नभए थप संघर्ष गर्न देशभरका पार्टी सदस्यहरुलाई आग्रह गरिने समेत स्पस्ट पार्नुभयो ।
कांग्रेसका अर्का नेता चन्द्र भण्डारीले कांग्रेसलाई मजबुत र विधिसम्मत तरिकाले अगाडी बढाउन नसक्दा देशमा अराजकता आएको बताउनुभयो । कांग्रेस कमजोर हुँदा देश अस्तव्यस्त हुने भएकाले त्यसको समाधानका लागि कांग्रेसलाई मजबुत बनाउने अभियानमा आफुहरु लागेको उहाँले बताउनुभयो । कांग्रेसको सुधारका लागि बुलेट प्रुफ ट्रेन चलाउन लागिएको पनि उहाँले बताउनुभयो । पौडेल समूहका तर्फबाट केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी लागयतका नेताहरुले पार्टी कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेललाई विरोधपत्र बुझाएका हुन् ।
जसमा पार्टीको विधान विपरित कुनैपनि सदस्यले गतिविधि गर्न नहुने र त्यसको संरक्षण एवं पालना गर्ने पहिलो जिम्मेवारी पार्टी सभापतिको हुने र त्यसमा आफुहरुले कहिं कतै सम्झौता गर्न नसक्ने उल्लेख छ ।












