काठमाडौं । चैतपछि सरदर १ लाख ४४ हजार ६ सय ३३ जनाले काठमाडौँ छाडेका छन् । कोभिड–१९ को जोखिम थप बढ्दै गएको र गुमाएको रोजगारी फिर्ता हुने सम्भावना न्यून भएपछि ६ महिनादेखि आफ्नो पुख्र्यौली थातथलोमा फर्र्किएकाहरु उपत्यका फर्किने सम्भावना पनि न्यून छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. चेम्जोङले भने– ‘काठमाडौँ उपत्यकामा अनौपचारिक आर्थिक अवसर घटेको छ, कोभिड सकिने बित्तिकै त्यो अवसर सुरु हुन्छ अनि गाउँ गएकाहरु फर्कन्छन् ।’ स्कुल, कलेज बन्द भएकाले ठूलो सङ्ख्यामा विद्यार्थीहरुले उपत्यका छाडेको र निजी स्कुल र कलेजका शिक्षक–शिक्षिकाहरुले पनि काठमाडौँ छाडेको बताउछन् डा. चेम्जोङ ।
लकडाउनपछि चोभार, नागढुङ्गा, बालाजु र साँगाबाट कुल ७ लाख ८४ हजार ३ सय ८७ जना बाहिरिए । सो अवधिमा ७ लाख ३९ हजार ७ सय ५४ जना उपत्यका भित्रिएको तथ्याङ्कबाट देखिन्छ । महानगरीय प्रहरी कार्यालयबाट प्राप्त तथ्याङ्क यकिन भने छैन । किनभने यात्रु आवागमनको व्यवस्थित रेकर्ड राख्ने सिस्टम नेपालमा विकास भइसकेको छैन । प्रहरीको इन–आउट रेकर्डको आधारमा तयार पारिएको तथ्याङ्का अनुसार लकडाउनपछि सरदर १ लाख ४४ हजार ६ सय ३३ जनाले काठमाडौँ छाडेका छन् । (तथ्याङ्क ट्राफिक प्रहरी र नाकामा प्रहरीले राखेको इन–आउट रेकर्डको आधारमा तयार पारिएको)
वैदेशिक रोजागारी अहिले ठप्प छ । त्यसकारण काठमाडौँमा अहिले विदेश जाने र आउने मूलगेटभएपनि खासै मानिसहरु देखिखैनन् । नत्र वैदेशिक रोजागारीको प्रक्रिया पूरा नहुन्जेल ठूलो श्रमशक्ति अस्थायी रूपमा अनौपचारिक आर्थिक क्षेत्रमा क्रियाशील हुन्थे । घरायसी काम गर्ने श्रमिकहरुको रोजगारी गुमेको छ । आफ्ना लाला–बाला पढाउन र दुई छाक खानका लागि हुने–खानेको घरमा सफाइको काम गर्नेहरुले पनि रोजगारी गुमाएका छन् ।
कोरोना महामारीमा उनीहरुलाई राहतमा पनि विभेद गरियो । उपत्यकाका वडाध्यक्षहरुले भोटर रोज्दा डेरामा बस्नेहरुले राहतको रङ्ग कस्तो थियो भनेर पनि थाहा पाउन सकेनन् । त्यसपछि उपत्यका छाड्नुको विकल्प थिएन ।












