काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको कालिञ्चोक गाउँपालिका स्थित लापिलाङका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई राहत तथा उद्धारको व्यवस्था गर्नु भएको छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहित शुक्रबार पहिरो प्रभावित क्षेत्रमा पुग्नु भएका मन्त्री गुरुङले पीडितलाई अत्यावश्यक खाद्यन्न, त्रिपाल लगायतका राहत सामग्री वितरण गर्नु भएको हो । गत भाद्र २२ गते बिहान लापिलाङस्थित रानीवन भीर भत्किएर काँडाबारी बस्तीका ९ वटाघर पूर्ण रुपमा तथा ३२ घर आंशिक रुपमा क्षतिहुँदा २६ घर परिवार पूर्ण रुपमा विस्थापित हुन पुगेका थिए भने २ सय ४७ घर परिवार प्रभावित भएको थिए ।
मन्त्री गुरुङले पहिरोले बिचल्लीमा परेका पीडितसँग भेट गरी उनीहरुलाई राहत वितरण गर्नु भएको हो । त्यस अवसरमा बोल्दै उहाँले पीडितहरुको जिम्मा राज्यले लिने बताउनु भयो । ‘तीनवटै तहका सरकार मिलेर पीडितलाई थप राहतको व्यवस्था गरिनेछ,’मन्त्री गुरुङले भन्नु भयो, ‘जोखिममा परेको त्यहाँको बस्ती स्थानान्तरणका लागि तत्काल पहल गरिनेछ ।’ उहाँले विपत्तिको यो बेला पीडितका लागि राज्य छ भन्ने अनुभूति दिलाउने गरी आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्त्री गुरुङले स्थानीय सरकार र प्रदेश सरकारलाई पीडितका लागि राहतको आवश्यक व्यवस्था मिलाउन पनिआग्रह गर्नु भयो ।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौंलागाईले पनि पीडितका लागि आवश्यक राहतको व्यवस्था गर्न पहलगर्ने बताउनु भएको थियो । मन्त्री गुरुङसँगै पूर्वमन्त्री पोखरेल, सांसद चौंलागाईँ, जिल्ला समन्वय समितिका प्रमुख डबलपाण्डे, तामाकोशी गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटी लगायतले पनि पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको थियो ।
कालिञ्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामी, उपप्रमुखक कालिका शिवाकोटीले पीडितको अवस्थाबारे जानकारी गराउँदै उनीहरुको राहत तथा दीर्घकालीन बसोबासको उचित व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो । यस अघिमन्त्री गुरुङले गौरीशंकर गाउँपालिकाका विभिन्न वडामा गएको पहिरो प्रभावित क्षेत्रको पनिअवलोकन गरी पीडितलाई राहत तथा उद्धारका लागि आवश्यक व्यवस्था मिलाउनु भएको थियो ।












