काठमाडौं । नेकपाको आज ११ बजेका लागि बोलाइएको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले भोलिको संविधान दिवसका अवसरमा आज व्यवस्त हुनुपर्ने भएकोले सो बैठक स्थगित गरेको जनाएका छन् । तर पनि संविधान दिवसका बारेमा आज प्रधानमन्त्रीको खासै कार्यक्रम छैन । त्यसैले यो बैठक स्थगतको त्यो निहुँ पारे पनि कारण भने अर्कै रहेको बालुवाटार स्रोत बताउँछ । ओली निकट बालुवाटार स्रोत भन्छ– 'पेरिस डाँडा नजानकै लागि ओलीले यो बैठक स्थगित गरेका हुन् । पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा अहिले सो दलका जनबर्गीय संगठनहरुको कार्यालय राखिएको छ । नेकपा एकीकरण भएपछिको पार्टी कार्यालय भने धुमबाराहीमा छ । '
तर पनि सो कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली कुनै पनि बैठकका लागि भनेर अहिलेसम्म गएका छैनन् । यसअघिका कैयौँ कार्यक्रममा बोलाइएको भए पनि उनी पेरिसडाँडा जान मानेका छैनन्, ती कार्यक्रममा प्रचण्डमात्र सहभागी भएका छन् । त्यसैले आज पनि सो बैठक त्यहीँ राखिएकोले अन्तिममा आएर स्थगित गरिएको समाचार स्रोतले बताएको छ ।
सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेको भनेर यसअघि निकै विवाद भएको थियो । त्यसपछि आजको बैठक पार्टी कार्यालय धुम्बाराहीमा राख्नुपर्ने वरिष्ठ नेता माधव नेपालले जोड गरेका थिए ।
तर अर्का अध्यक्ष प्रचण्डले भने पार्टीको एकीकरणको सन्देश दिनुपर्ने भन्दै पेरिसडाँडा राख्न प्रस्ताव गरेका थिए । सचिवालयको अघिल्लो बैठकमा गरिएको यो प्रस्तावलाई प्रधानमन्त्री ओलीले हुन्छ भनेका थिए । मन्त्रिमण्डल पुनर्गठन, पार्टीमा नेताहरुको व्यवस्थापन तथा अन्य समसामयिक विषयमा छलफलका लागि आजको बैठक बोलाइएको थियो । यो बैठक आइतबारलाई सारिएको छ । तर बैठकस्थल भने अहिलेलाई पेरिस डाँडा नै कायम छ ।












