काठमाण्डौ । यस वर्षको मनसुनी वर्षाले निकै क्षति पुर्याएको सिन्धुपाल्चोकमा गएराति फेरि अर्काे बिपत्ति आइलागेको छ । पहिरोबाट बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् ।
नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस्य वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए । बेपत्ताहरूको खोजी गर्ने प्रयास शुरु भएको छ ।
‘‘भिरखर्कमा १० घर पुरिएको खबर आए पनि स्थानीय, जनप्रतिनिधिसँग सम्पर्क हुन सकेको छैन । वडा सदस्य थापाले सुरक्षाकर्मी पनि पुगिनसकेकाले यकिन विवरण पाउन नसकिएको बताएका छन् । घटनास्थलमा सुरक्षा अधिकारी तथा उद्धारकर्मीहरु पुग्ने क्रम भर्खरै शुरु भएकोले क्षतिको यकिन विवरण अझै नआइसकेको बताइएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा शनिबार राती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् ।

भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ ।हाल स्थानीय बासिन्दा, सुरक्षाकर्मीहरु उद्धारकार्यमा संग्लन भएका छन् ।

घटनास्थलको अबस्थाका बारेमा जानकारी लिन सभामुख अग्निप्रसााद सापकोटा स्थलमार्गबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङ जादै हुनुहुन्छ । यस बर्षको बर्षात संगै सिन्धुपाल्चोकमा ठुला पहिरोमा निकै जनधनको क्षती भएको छ ।

तस्बिरहरू : बजीर भण्डारी












