दीपक गौतम
जापानः सेक्युरिटी प्रेस खरिद प्रकरणमा बयानका लागि ७ दिन भित्र उपस्थित हुनु भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सूचना जारी गरेपछि तत्कालीन संचारमन्त्री गोकुल बास्कोटाको अडियो सार्वजनिक गरेका बिजय प्रकाश मिश्रले अख्तियारको सूचना सर्बोच्चको आदेश विपरीत भएको प्रतिकृया दिएका छन् ।
जापानमा रहेका मिश्रले संचारकर्मीसँग कुरा गर्दै लकडाउनको अवधिलाई शून्य अवधि मानिने सर्वाेच्चको आदेश विपरीत भएको प्रतिकृया दिएका हुन् । मलाई भागेको या फरार भएको जस्तो गरी सूचना निकालिएको छ, मिश्रले भने, मैले प्रमाण जुटाउन अख्तियारलाई पनि जानकारी गराएर जापान आएको हुँ । अखियारको सूचना अनुसार आफू ७ दिन भित्र उपस्थित हुन नसक्ने पनि उनले प्रष्ट परेका छन ।
अख्तियारले सूचना निकाल्नु उसको अधिकार भएको र आफ्ना पनि केही अधिकार भएकाले ७ दिन भित्र उपस्थित हुन सक्दिन, टेलिफोनमा कुरा गर्दै उनले भने, म यही महिनाको ३० तारिख टिकट काटेर बसेको छु, ३० तारिख भन्दा अघि नेपाल जान सक्दिन ।
उनले आफूले अख्तियारमा प्रमाण पेश गर्नु पर्ने भएकाले प्रमाण लिन जापान आएको बताए । छोरीले आफ्नो मोबाइल बोकेर आएको र त्यही मोबाइलमा भ्वाइस रेकर्ड रहेकाले लिनका लागि जापान आउनु परेको उनको भनाइ छ । मुद्दाको म्याद तामेल पनि गरेको र अख्तियारले बयानका लागि बोलाएको पत्र पनि बुझेको तर पनि फरार अभियुक्त जस्तो गरी अख्तियारले सूचना जारी गरेको उनको आरोप छ । उनी १ महिना अघि नै जापान आएको बताए ।
१ महिना अघिसम्म जापानमा कुटनीतिक नियोगका पदाधिकारी, जापानी नागरिकका परिवार र जापानको पिआर भएकाहरुले मात्रै जापान प्रवेश गर्न पाउने व्यवस्था थियो । तपाईंले जापानमा कसरी प्रबेश पाउनु भयो ? तपाईं कुटनीतिक व्यक्ति हो कि जापानको पिआर छ ? भन्ने प्रश्नमा उनले भने यसबारे अहिले नबोलौं ।












