काठमाडौं । केही दिन केही कम भएको वर्षा आगामी सोमबार रातिदेखि फेरि बढ्ने सम्भावना रहेको भन्दै सबैलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । ‘आउँदो सोमबार (साउन १२) रातबिाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सम्भावना छ,’ विशेष मौसम बुलेटिनमा भनिएको छ, ‘त्यसैले ती स्थानका नदीरखोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
यसैगरी आइतबार पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा रातिचाहिँ प्रदेश १ र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । महाशाखाका अनुुसार सोमबार दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यसम्म र प्रदेश १, २ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
सोमबार रातिदेखि भने वर्षाको मात्रा बढ्दै जाने महाशाखाले जनाएको छ । किनकि त्यस रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै आउने यसअघि नै उल्लेख गरिसकिएको छ ।












