२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्व अनुसन्धानकाे ठूलाे कारबाही, ७७ कराेड भ्याट छलेकाे भन्दै मुद्दा दायर



अ+ अ-

काठमाडाैंः राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी र झुट्ठा तथा नक्‍कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म तथा व्यक्तिहरु उपर रु. ७७ करोड ४ लाख १३ हजार विगो सहित जरिवाना एवं कैद सजाय समेतको माग दावी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार कारबाहीमा परेका कम्पनी एवं फर्महरूमा न्यू कोइराला ब्रदर्स इन्टरप्राईजेज, समर ट्रेडर्स, टोखा न.पा. ग्राण्डी अपार्टमेन्टमा बस्ने मयूर मालाकार, जिमी ग्रुप प्रा.लि. तथा न्यू क्रियसन इम्पेक्स प्रा.लि., बंगलामुखी ट्रेड एण्ड सप्लाई र बि.एस.ट्रेड इन्टरनेशनल रहेका छन् ।

उक्त कम्पनीमध्ये मयुर मालाकारमाथि सबैभन्दा ठूलाे मुद्दा दायर भएकाे छ । प्राप्त विवरण अनुसार मालकार समेतका २ जनाले विदेशबाट मोवाइल लगायतका इलेक्ट्रोनिक्स सामानहरु चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसूरमा ४३ कराेड १८ लाख ९५ हजार बिगो कायम गरी मुद्दा दायर भएकाे छ ।

मालाकारले आ.व. २०६६/६७ देखि नै भन्सार चोरी पैठारी गरी अवैधानिक कारोवार गरेको, व्यक्तिगत बैंक खाताबाट ठूलो परिमाणमा कारोवार भएको देखिएको, आपसी मिलेमतोमा राजस्व छली गर्ने मनसायले प्रचलित भन्सार, मू.अ.कर तथा आयकर कानुनको उलङ्घन गरी राजस्व चुहावटको कसूर गरेको पुष्टि भएकाे विभागले जनाएकाे छ ।

यसैगरी, न्यू कोइराला ब्रदर्स इन्टरप्राईजेजमाथि राजस्व चुहावट गरेको अभियोगमा रु.१ कराेड ७० लाख १९ हजार विगो कायम गरी मुद्दा दायर भएकाे छ । उक्त फर्मले वास्तविक मालवस्तु तथा सेवा खरिद नगरी झुट्टा तथा नकक्ली मूल्य अभिवृद्धि कर बीजक मात्र लिई सोही अनुसार आयकर तर्फ खरिद खर्च कट्टी लिई मूनाफा घटाएको र मूल्य अभिवृद्धि कर तर्फ TAX CREDIT (खरिदमा तिरेको भनी बिक्रीमा उठाएको करमा घटाई मिलान गर्न दावी गरेको रकम)  लिई कानुन बमोजिम नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर र आयकर छली राजस्व चुहावट गरेको विभागकाे भनाइ छ ।

त्यस्तै, काठमाडौं महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोवार गर्ने समर ट्रेडर्सले राजस्व चुहावट गरेको अभियोगमा ४ करोड ५८ लाख २ हजार २ सय विगो असुल उपर गरी जरिवाना एवं कैद सजायको माग गरिएकाे छ । 

विभागका अनुसार समरले  आयात गरेका मालवस्तुहरुको सवै विक्री नदेखाएको, कतिपय मालवस्तुको आयात भन्दा विक्री बढी देखिएको, तर आयात गरेको नदेखिएको (चोरी पैठारी गरी आयात भएको), सक्कल प्रज्ञापन पत्र पेश गर्न नसकेको, दर्ता र कारोवार गर्ने व्यक्ति फरक फरक भएको, फर्म दर्ता भएको ठेगानामा फर्म नराखी भन्सार नाकाबाटै कारोवार गरी राजस्व चुहावट गरेकाे पाइएकाे छ ।

त्यस्तै काठमाडौ महानगरपालिका वडा नं. ४ ठेगाना भएको जिमी ग्रुप प्रा.लि. ले राजस्व चुहावट गरेको अभियोगमा रु. १८ करोड ३३ लाख विगो असुल उपर गरी जरिवाना एवं कैद सजाय हुन  अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएकाे छ ।

जिमी ग्रुपले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको देखिएको छ ।

झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने ललितपुर महानगरपालीका वडा नं. ३ स्थित न्यू क्रियसन इम्पेक्स प्रा.लि. तथा बंगलामुखी ट्रेड एण्ड सप्लाई र काठमाडौं महानगरपालिका वडा नं. २८  स्थित बि.एस.ट्रेड इन्टरनेशनलले राजस्व चुहावट गरेको अभियोगमा ९ करोड २३ लाख विगो असुल उपर गरी जरिवाना एवं कैद सजाय समेत हुन मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

यी फर्मले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको देखिएको विभागले जनाएकाे छ ।