२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

के नेपाल बिआरआईबाट पछि हट्न लागेको हो ?



अ+ अ-

सन् २०१७ भर नेपालमा चिनियाँ एक महत्वाकांक्षी बृहत आयोजना विआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स्) को चर्चा व्यापक थियो । चीनका वर्तमान राष्ट्रपति सि चिनफिङले अबको विश्वमा चीन प्रवेश गर्ने एक बृहत र सशक्त रणनीतिक आयोजनाका रुपमा अघि सारेको यस आयोजनामा विश्वका ६० भन्दा बढी देशको सहभागितासँगै यो आयोजनाले विश्वमा नै चर्चा पाउनु स्वाभाविकै थियो । त्यस आयोजनामा पसेर चिनियाँ विकासको मोडेल नबन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका कैयौँ देशलाई बाटो पछ्याउँदै आग्रह गरिरहे तर ती देशहरु चिनियाँ यस आयोजनाको अंग बन्दै गए । त्यो लहर दक्षिण एसियामा पनि आयो र श्रीलंका र पाकिस्तान सुरुमै यो आयोजनाको एक किसीमले भन्नुपर्दा ‘पक्षराष्ट्र’ नै बने ।

अमेरिका, युरोप, अफ्रिका हुँदै एसिया प्रवेश गरेको यो आयोजनाका लागि सघाउ पुग्नेगरी पाकिस्तान र चीनबीच त सिपिइसी (चाइना पाकिस्तान इकोनोमिक कोरिडोर) नै निर्माण भयो । यसलाई पाकिस्तानले आर्थिक मार्ग मात्रका रुपमा नलिएर समृद्धिको मार्ग नै भनेपछि दक्षिण एसियाको एउटा ठूलो अर्थतन्त्र भारतको मनमा चिसो पस्न थाल्यो । चीनसँगको समस्याको सम्बन्ध रहेको भारतले यस मार्गमाथि नयाँ प्रश्न उठायो र भन्यो ‘त्यो कोरिडोरको वारपार भारतीय भूमि हुदै जान्छ त्यसैले त्यो अवैधानिक छ ।’ तर यो भारतको प्रतिवाद मात्र थियो, यथार्थ थिएन । त्यसैले त्यो मुद्धा उबेलैदेखि सामसुम नै भयो । बरु भारतले आफूले भन्दा मान्ने र सुन्ने दक्षिण एसियाका देशहरुलाई नछिर्न भन्यो । यो आदेश नेपालसम्म पनि नआएको होला भन्न सकिँदैन । 

तर पनि नेपालमा भारत विरोधी भावना त नाकाबन्दीको समयदेखि नै अप्रत्याशित रुपमा जागेकै हो । यसअघि भारतले विसं २०४५ मा नाकाबन्दी लगाएको थियो रे भन्ने सुनेको नेपालको जनसंख्याको ६० प्रतिशत रहेको युवा शक्तिले त्यो नाकाबन्दी कस्तो हुन्छ भन्ने देख्यो, भोग्यो । जीवनमा कहिल्यै दाउरा नदेखेको काठमाडौँको ठूलो युवा पिँढीले दाउरामा पकाएर खायो भने दिनमा १६ घन्टासम्मको लोडसेडिङ ब्यहोरिरहेको राजधानीको जनजीवनले इन्धन अभावका अनगिन्ती व्यथाहरु भोग्यो । जसका कारण भारत विरोधी भावनामा थप मलजल पुग्यो ।

औषधि समेत भारतबाट रोकिएको कारण नेपालमा विरामीको मृत्यु भएकासमेतका कैयौँ समाचार सुन्यो, देख्यो र भोग्यो । तर पनि यसको विकल्प नाकाबन्दी खोल्नु बाहेकको अर्काे थिएन । हाम्रो जनजीवनको निरन्तरताका लागि भारतबाहेकको अर्काे निकासको नाका थिएन । बरु चीनले प्रदान गरेको केही ‘टोकन अफ लभ’ ले नेपाली नागरिकको मन भरियो । र समग्र नेपालीले भने–चीनतर्फ हात फैलाउ, हाम्रो देशलाई सियोदेखि मियोसम्मको परनिर्भरतामा नपार । त्यस्तो अवस्थामा नेपाली जनसमुदायले चीन विकासको प्रारुप बिआरआइमा नछिर भनेर दिएको दबाब मान्ने त के सुन्ने कुरा पनि थिएन र सुनेन पनि । 

देशमा पुष्पकमल दाहाल प्रचण्डको सरकार थियो र परराष्ट्र मन्त्री थिए डा प्रकाशशरण महत । त्यसताका कूटनीतिक क्षेत्रका समाचारमा सधैँ आउने विषय थियो चीन । प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई पत्रकारले सोधीहाल्ने दुईमध्यको पहिलो प्रश्न थियो नेपालले बिआरआइमा हस्ताक्षर कहिले गर्छ ? अर्काे थियो नेपालमा चिनियाँ राष्ट्रपति सिको भ्रमण कहिले हुन्छ ? त्यतिमात्र होइन कि देशका लगभग समग्र मिडियाले नै नेपालको त्यो सरकार पूरापूरी रुपमा भारततर्फ ढल्किएको छ त्यसैले चीनको कुरा सुन्दैन । त्यो भन्दा अघिल्लो सरकारका अर्थात् नाकाबन्दीको समयका राष्ट्रवादी कहलाएका प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको रुपमा चीन गएर पारवाहन सम्झौता गरेका थिए । त्यसैले पनि नेपाली जनताको आश के मा थियो भने नाकाबन्दीमा व्याकुल भएका जनतालाई शीतलता प्रदान गर्नेगरी भएको सो सम्झौता कहिले अघि बढ्छ र कहिले भारतसँगको परनिर्भरताको मात्रा घट्नसक्छ ? तर यो माहोलका बाबजुद पनि सरकार तयार भयो र सन् २०१७ को मार्चमा उक्त बिआरआई सम्झौतामा हस्ताक्षर भयो । 

तर दुःखको कुरा यो छकि त्यस आयोजनामा हस्ताक्षरपछि भने केही पनि भएन । अनि बिआरआईमा हस्ताक्षर नगरेर नेपाल भारतको कूटनीतिक छायाँमा परेको भनेर त्यस समयको सरकारलाई दिनहुँजसो घच्घचाउने देशका मिडियाले पनि हस्ताक्षर पनि के भयो त भनेर कहिल्यै लेखेनन् या गर्नुपर्ने काम नै देखेनन् । नत नाकाबन्दी ताका राष्टवादी कहलिएका ओली नेपाली इतिहासको सबैभन्दा बलियो प्रधानमन्त्री भएका बखत नै देशमा केही हुनसक्यो । दुई दशक भन्दा लामो समयपछि चिनियाँ राष्ट्रपति नेपालको भ्रमणमा आए । नेपाल चीन कूटनीतिक सम्बन्धमा यति महत्वपूर्ण अध्याय थप्न सफल प्रधानमन्त्री ओलीको शक्तिशाली दुई वर्ष पनि यस विषयमा सिन्को नै नभाँचेर सकियो । अहिले पनि देशले यो सरकारलाई चिनियाँ सहयोग र समर्थनको सरकार ठान्छ तर सरकारले भने त्यस्तो भान दिन सकेको छैन । 

तर समस्या ओलीमा होइन उहाँको सत्ता र पार्टीमा छ । यसरी हेर्दा अहिलेको सरकारलाई टाउको मात्र उत्तर फर्किएको अरु सबै अंग प्रत्यंगहरु भने दक्षिणतर्फ फर्किएको स्वरुपमा हेर्न थालिएको छ । जसले पायो त्यसले फाइदा लिने तर प्रधानमन्त्रीको इशारालाई बुझे पनि नबुझेजस्तो गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कर्मचारी पृष्ठभूमिबाट आएका र सधैँ यस्तै प्रवृत्ति देखाउने अर्थमन्त्री युवराज खतिवडाका कारण नै वर्तमान न प्रधानमन्त्रीलाई काम गर्न अप्ठेरो परेको मात्र होइन कि उनीहरुको दक्षिण र अमेरिका परस्त नीतिका कारणले बिआरआई आयोजना पछि परेको विश्लेषकहरु बताउँछन् । उनीहरुको धारणा छ अर्थमन्त्रीले जानी जानी यसरी बिआरआईलाई पछि पारिदिए र एमसिसिलाई अनावश्यक रुपमा एक राष्ट्रिय तथा अन्तराष्ट्रिय एजेण्डा बनाउने काममा घुसघुसे पाराले खेलिदिए । जसका कारण अहिले ओली सरकारलाई उत्तर न दक्षिणको हुने खतरा बढ्दैछ । तर यसबीचमा ओलीले ल्याएको नयाँ नक्सको काम भने उनको व्यक्तिगत अडानकै कारण आयो र प्रसंशनीय पनि छ ।    

अर्थमन्त्री खतिवडाले पछिल्लो समय विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैंकसँग आपत्कालीन ऋण सहयोगका लागि याचना गरी ऋण भित्र्याइरहेका छन् । कोभिड–१९ पछि कोरोना भाइरसको प्रभाव सिर्जित क्षेत्रमा प्रतिकार्यका लागि उनले एसियाली विकास बैंकसँग २५ करोड अमेरिकी डलर, विश्व बैंकसँग १० करोड अमेरिकी डलर र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २१ करोड ४० लाख ऋण सहयोग लिइसकेका छन् ।

यी विकास साझेदारसँग अर्थमन्त्रीको सन्निकटता र हिमचिम बढाएका उनले चिनियाँ सहयोगलाई जानाजानी पूर्णतः बेवास्ता गरेका छन् । नेपालको परराष्ट्र अधिकारीहरूले उनका कारण देशमा उत्तर दक्षिण सन्तुलन गुम्न लागेको गुनासो गरिरहेका छन् तर दुःखको कुरा उनीहरु पनि प्रधानमन्त्रीलाई गएर यस विषयमा खुलस्त ब्रिफिङ गर्न भने सक्दैनन् ।

नेपालसमेत संस्थापक सदस्य भएर मित्रराष्ट्र चीनको अगुवाइमा स्थापना भएको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) सँग सहायता लिन पनि अर्थमन्त्रीले पहल नगर्नु उनको यो व्यक्तिगत स्वार्थ र चीन परस्त नीतिबाहेक अरु केही होइन । चिनियाँ दूतावासले समेत उनका पछिल्ला गतिविधिहरुलाई हेरेर नेपालले चिनियाँ सहयोगमा किन बेवास्ता गर्दैछ भन्ने विषयमा चासो राख्नु र देशका उच्च राजनीतिक नेतृत्वसँग प्रश्न गर्नु भनेको चीनजस्तो असल छिमेकीसँगको सम्बन्धमा नेपालका लागि ठूलो घाटा हो । 

खासगरी पश्चिमा राष्ट्र र दक्षिणी छिमेकीसँगको सन्निकटताका कारण अर्थमन्त्रीले चिनियाँ सहयोगलाई बेवास्ता गर्ने गरेको उनका भित्री क्रियाकलापहरुलाई राम्रोसँग चिन्नेहरु नै बताउँछन् । त्यसको पुष्टि हुनेगरी अर्थमन्त्री एमसीसी अन्तर्गतको विद्युत् प्रसारण आयोजना निर्माणलाई समावेश गरी उनले बजेट पनि विनियोजन गरेका मात्र होइन कि त्यो पास नै भएको छ । यसरी हिजोको संसदमा नेपालको बजेट पास हुनु भनेको एमसिसि आंशिक रुपमा पास हुनु हो । खासगरी, चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा उनले नेपाललाई ५६ अर्ब रुपैयाँ बराबरको सहयोग घोषणा गरेका थिए । 

नेपालले बीआरआईमा आधा दर्जन परियोजना प्रस्ताव गरेको छ । यीमध्ये टोखा–छहरे सुरुङमार्ग, स्याफ्रुबेसी–गल्छी– रसुवागढी सडक स्तरोन्नतिलगायत केही परियोजनामा चिनियाँ राष्ट्रपति सी को गत वर्ष सम्पन्न भ्रमणका क्रममा समेत सहमति जुटिसकेको छ । नेपालले केरुङ–काठमाडौं रेलले जोड्ने उत्कट चाहना राखेको राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिको स्वागतमा आयोजित रात्रिभोज अघिको सम्बोधनमा समेत व्यक्त गरेकी थिइन् । नेपालले तराईका जिल्लामा सहरी पूर्वाधारको विकास, पोखरा–बेनी–जोमसोम सडक, अन्तरदेशीय रेलमार्गका अतिरिक्त, उत्तर दक्षिण करिडोर, शारदा बबई जलविद्युत् आयोजनालगायत बीआरआईमा प्रस्ताव गरेको छ । तर ती कहाँ छन्, तिनको अवस्था के कसरी अघि बढिरहेको छ भन्ने कुरै बेखबर छ ।

हस्ताक्षर पछि नेपालले बिआरआइबाट लिने फाइदाका लागि एक प्रारुप बनाउनुपथ्र्याे । त्यो बनेको छैन । बरु सरकारमा बसेका खतिवडा मार्काहरुले देशलाई खतिबाहेक केही दिएका छैनन् । मात्र उनी यही असारमा मन्त्रीबाट बाहिरिएपछि कसरी अमेरिकाको राजदूत हुने भन्ने मात्र ध्याउन्नमा छन् । त्यसबाहेक कर्मचारी मन्त्री खतिवडाले सत्तारुढ दल र नेकपाको सरकारलाई नै खतिबाहेक अरु केही नपुराउने कुरा नेकपाकै सांसद नविना लामाले संसदमा दिएको अभिव्यक्तिबाटै प्रष्ट हुन्छ । यसका अलावा तीन वर्षअघि नेपालले बिआरआइमा कहिले हस्ताक्षर गर्छ भन्ने व्याकुल प्रश्न सोध्ने नेपालको कूटनीतिक र राजनीतिक वृत्तमा यसको तीन वर्षपछि यतिखेर अर्काे प्रश्न थपिएको छ– के नेपाल बिआरआईबाट पछि हट्न लागेको त होइन ? यो  प्रश्नमा कूटनीतिक क्षमताबिहीन वर्तमान परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको असक्षमताले ठूलो मलजल गरेको छ ।