२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ सङ्क्रमित



अ+ अ-

चितवन। चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये एक हजार ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ३९५ पुरुष र ६६० महिला छन् । भरतपुर महानगरपालिकामा ८० पुरुष र १३४ महिला, खैरहनी नगरपालिकामा २२ पुरुष र ४८ महिला, माडी नगरपालिकामा छ पुरुष र पाँच महिला, रत्ननगरमा ५३ पुरुष र ७७ महिला, राप्तीमा २४ पुरुष र ३३ महिला, कालिका नगरपालिकामा २२ पुरुष र ३१ महिला र इच्छाकामना गाउँपालिकामा १० पुरुष र १४ महिला सङ्क्रमित देखिएका छन् ।

अन्य जिल्लाबाट आएका बिरामीमध्ये १७८ पुरुष र ३१८ महिला रहेका छन् । गत आर्थिक वर्षमा कूल सात हजार ९५ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो ।

जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले स्क्रब टाइफस नियन्त्रणका लागि जनचेतना फैलाउनुका साथै समयमै उपचार गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले सरसफाइमा विशेष ध्यान दिन, झाडी क्षेत्रबाट बच्न र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

उहाँले यही साउनमा मात्रै ४७८ जनाको परीक्षणमा ३० जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । तीमध्ये केही जिल्लाभित्र कै र केही अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन् । खासगरी वर्खाको समयमा यो रोगको सङ्क्रमण बढी हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेपछि मुसाहरू घर, गोठ वा ओवानोमा पस्ने गर्छन् । त्यस क्रममा तिनको शरीरमा रहेका किर्ना खसेर मानिसलाई टोकेमा सङ्क्रमण हुने सम्भावना हुन्छ ।”

उहाँले अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गरिएका तीन हजार आठ सय जनाको परीक्षणमा पाँच सय ५२ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

चितवनमा स्क्रब टाइफसको पहिलो रिपोर्टिङ विसं २०७२ मा भएको थियो । भेक्टर कन्ट्रोल निरीक्षक केसीका अनुसार परीक्षणको दायरा विस्तार हुँदै जाँदा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७६÷७७ मा एक हजार पाँच सय १६ जनाको परीक्षण गर्दा एक सय २७ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, २०७७÷७८ मा दुई हजार दुई सय ९० जनामध्ये तीन सय १८ जना, २०७८÷७९ मा तीन हजार दुई सय ८६ परीक्षणमध्ये दुई सय ६८ जना र आर्थिक वर्ष २०७९÷८० मा तीह जार चार सय ६१ जनाको परीक्षणमा पाँच सय तीन जनामा सङ्क्रमण देखिएको थियो ।

स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

केसीका अनुसार स्क्रब टाइफस ओरेन्टिया सुसुगामुशी नामक जीवाणुबाट लाग्ने हो । माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घर वरिपरिको फोहर क्षेत्रमा पाइन्छ । रोग नियन्त्रणका लागि उहाँले खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भुइँमा सुत्न वा बस्न नहुने सुझाव दिनुभयो । मुसा नियन्त्रणका लागि अन्न भण्डारण सही ढङ्गले गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

रोगका लक्षणमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी), अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्गहरू प्रभावित हुने, तथा कीराले टोकेको स्थानमा रातो दाग देखिने र पछि कालो दाग बस्न सक्ने रहेका भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिनुभयो । रासस