२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ दिनको चिनजानमै प्रेम, आशंकाले लिए किशोरीको ज्यान



अ+ अ-

धनगढी। कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियास्थित एक रेस्टुरेन्टको किचनमा प्रेम सम्बन्धको जटिलताले एक १७ वर्षीया किशोरीको ज्यान लिएको छ। राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत याचना सेजुवालको हत्या सोही रेस्टुरेन्टमा काम गर्ने ३३ वर्षीय निरज साउदले चक्कु प्रहार गरेर गरेका हुन्।

सेजुवाल करिब दुई हप्ता अघि मात्र वेटरको रुपमा उक्त रेस्टुरेन्टमा काम गर्न थालिएको थियो। त्यहीँ किचनमा काम गर्ने निरज साउदसँग चिनजान हुँदै उनीहरूबीचको सम्बन्ध प्रेममा बदलिएको प्रहरी अनुसन्धानले देखाएको छ। साउदको केही समयअघि श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको थियो र उनी दुई सन्तानका बाबु समेत हुन्।

याचना र साउद बीचको प्रेम सम्बन्ध तीव्र गतिमा अगाडि बढेको थियो। साउदले याचनासँग विवाह गर्ने योजनासमेत बनाइसकेका थिए। याचना पछिल्लो समय साउदको किचन कार्यमा समेत सहयोग गर्न थालेकी थिइन्।

तर, पछिल्लो दिनहरूमा याचनाले अन्य केटासँग फोनमा कुरा गरिरहेकी थाहा पाएपछि साउद क्रोधित बनेका थिए। प्रहरीका अनुसार, शुक्रवार साँझ उनीहरूबीच सँगै भाग्ने योजना बने पनि अन्तिम समयमा याचनाले निर्णय फेरेपछि साउद थप आक्रोशित बने।

शनिबार बिहान करिब १० बजे, रेस्टुरेन्टको किचनमा काम गर्ने क्रममा ती दुईबीच विवाद भयो। विवादको चरम बिन्दुमा पुगेपछि साउदले भान्सामा रहेको धारिलो चक्कुले याचनाको घाँटीमा प्रहार गरे। रगतसहित ढलेकी याचनालाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइयो तर उनको ज्यान जोगाउन सकिएन।

घटनाको जानकारी पछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। साउदलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ र हाल उनी इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा छन्।

साउदले प्रारम्भिक बयानमा भनेका छन्, “उनीसँग विवाहको कुरा टुंगोमा पुगेको थियो, तर उनले अन्य केटासँग पनि फोनमा कुरा गरिरहेकी थिइन्। सोध्दा झगडा भयो र त्यसकै आवेगमा चक्कु प्रहार गरेँ।” उनले आफूले ठूलो गल्ती गरेको महसुस भइरहेको बताएका छन्।

मृतक याचनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको कैलाली प्रहरी कार्यालयले जनाएको छ।