२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था



अ+ अ-

रसुवा। जनैपूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डमा आउने भक्तजनका लागि यस वर्ष तातोपानीको व्यवस्था गरिएको छ । हरेक वर्ष साउनको एकादशीदेखि जनैपूर्णिमासम्म गोसाइँकुण्ड मेला भर्न आउने प्रचलन रहेबमोजिम त्यसतर्फ भक्तजन आउनेक्रम सुरु भएको छ ।

धुञ्चेका युवा समूहमार्फत भक्तजनका लागि निःशुल्क तातोपानीको व्यवस्था गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले उल्लेख गर्नुभयो । समुद्रसतहबाट चार हजार ३८० मिटरको उचाइमा रहेको सो कुण्डमा स्नान तथा पूजा आराधना गरे जानअन्जानमा गरिएका पापबाट मोक्ष प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।

अहिले तीर्थयात्रीहरू धुञ्चे हुँदै त्यसतर्फ जानेक्रम सुरु भएको र यस वर्ष जनैपूर्णिमाका दिनसम्म करिब १५ हजार तीर्थालु भक्तजनले पवित्रकुण्डमा स्नान गर्ने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोसाइँकुण्ड यात्राका क्रममा धुञ्चेबाट खन्तिसम्मको अप्ठ्यारो पैदलबाटो मर्मतसम्भारसहित सरसफाइ गरिएको, खानेपानीको व्यवस्था मिलाइएको, ठाउँठाउँमा अस्थायी आवासको प्रबन्ध, गोसाइँकुण्डसहित बाटोमा पर्ने बुद्धमन्दिर, चोलाङपाटी, चन्दनबारी, देउराली, तिवारी बगर र धुञ्चे क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था तथा शान्तिसुरक्षासहित अन्य अत्यावश्यकीय सामग्रीको प्रबन्ध गरिएको छ ।

गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, पञ्चधाम समिति, काठमाडौँस्थित ग्रिनसिटी अस्पताल र गोसाइँकुण्ड गाउँपालिका तथा अन्य सङ्घस्थानहरूको समन्वयमा रसुवा जिल्ला अस्पतालसहित जिल्ला आयुर्वेदिक औषधालय, नेपाली सेनाले यात्रुलाई सहज उपचार दिने व्यवस्था गरेका छन् ।

यसैबीच रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तीर्थयात्रुको सुरक्षाका लागि बेत्रावतीबाट गोसाइँकुण्डसम्म ठाउँठाउँमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क भई तीर्थयात्रा गर्न सम्बद्ध सबैसँग अनुरोध गर्नुभएको छ ।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर मल्लले गोसाइँकुण्ड उच्चस्थानमा रहेकाले चिसो कुण्डमा स्नान गर्नेक्रममा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

अहिले वर्षा भइरहे पनि काठमाडौँ र पृथ्वीराजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूली बजार हुँदै धुञ्चेसम्मको सडकमार्गमा कुनै अवरोध नभएको जिल्ला प्रहरी कार्यालयल जनाएको छ । धुञ्चेबाट करिब चार किलोमिटर पैदल बाटो आवश्यक मर्मतसहित सरसफाइ गरिएकाले ढुक्क भई मेला भर्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले सबैसँग अनुरोध गरेको छ । रासस