२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवापीडितलाई रु ३७ लाख



फाइल फोटो
अ+ अ-

तनहुँ। तनहुँमा वन्यजन्तुबाट क्षति भएका सर्वसाधारणलाई डिभिजन वन कार्यालय तनहुँले करिब ३७ लाख राहत वितरण गरेको छ । डिभिजन वन कार्यालय तनहुँले मानवीय र पशुधनको क्षतिवापत रु ३६ लाख ९३ हजार चार सय ३९ राहत वितरण गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा चितुवाको आक्रमणबाट मृत्यु भएका तीन बालबालिकाको परिवार र वन्यजन्तुबाट क्षति भएका पशुधनको राहतपीडितलाई उक्त सहयोग गरिएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट उक्त आर्थिक वर्षमा बन्दीपुर गाउँपालिकाका तीन जना बालबालिकाको मृत्यु भएको थियो । विसं २०८१ साउन ३ गते बन्दीपुर गाउँपालिका–५ कामीडाँडाका १३ वर्षीय सुन्दर कुमाल, चैत २९ गते बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा १० वर्षीया अनुजा विक र गत जेठ २६ गते बन्दीपुर गाउँपालिका–२ कुवादीमा छ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम प्रदान गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा ५०  हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।

यस्तै चितुवाको आक्रमणबाट घाइते म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगरलाई उपचारका लागि रु एक लाख सात हजार र भालुको आक्रमणबाट घाइते भानु नगरपालिका–१२ का कल्पना गिरीलाई रु २४ हजार चार सय ३९ सहयोग गरिएको छ ।

चितुवाको आक्रमणबाट क्षति भएका पशुधनको राहतवापत रु पाँच लाख ६२ हजार वितरण गरिएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार त्यस अवधिमा चितुवाको आक्रमणबाट ४७ बाख्रा, एउटा भैँसी, १२ वटा गाईगोरु मरेका थिए ।

भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्लो आठ वर्षमा १६ बालबालिकाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय तनहुँले चितुवाबाट जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न आग्रह गर्दै आएको छ ।