२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेदमा पहिलो विद्यावारिधि गर्ने पोखरेल सम्मानित



अ+ अ-

काठमाडौँ। विश्वसंस्कृत दिवसका अवसरमा नेपालबाट वेद विषयमा पहिलो विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेललाई सम्मान गरिएको छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्वसंस्कृत दिवसका अवसरमा आज जरो किलो प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा पोखरेललाई सम्मान गरिएको हो । प्रतिष्ठानको आह्वानमा विसं २०७५ देखि विश्वसंस्कृत दिवस मनाउन थालिएको हो ।

प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइराला, सम्मानित व्यक्तित्व पोखरेल, विश्वसंस्कृत दिवस कार्यक्रम संयोजक प्रा डा माधवप्रसाद पाण्डेय, प्रा डा जीवन अधिकारीलगायतले संस्कृतको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रत्येक वर्ष तिथिअनुसार श्रावणी पूर्णिमा (ऋषितर्पणी) को दिनमा मनाइने विश्वसंस्कृत दिवसको आठौँ संस्करण नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रमको आयोजना गरी आज मनाइएको हो ।

आठौँ विश्वसंस्कृत दिवसको मूल समारोह नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ काठमाडौँमा आयोजना गरिएको विश्वसंस्कृत दिवस कार्यपरिषद् (आयोजक समिति)का संयोजक प्रा डा पाण्डेयले राससलाई जानकारी दिनुभयो ।

संस्कृत भाषामा निहीत ज्ञान र सम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले बताउनुभयो । प्राचीनकालमा शैक्षिकसत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमाका दिनदेखि सुरु गरिने हुनाले पनि यसै दिनलाई दिवसका रूपमा मनाउन थालिएको बताउँदै उहाँले दिवसलाई आधिकारिकता प्रदान गर्नका लागि संयुक्त राष्ट्रसङ्घ समक्षसमेत प्रस्ताव लगिने जानकारी दिनुभयो ।

जरो किलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, जयतु संस्कृतम्, हिमवत् आर्ष प्रज्ञा, सनातन धर्म महासङ्घ नेपाल, सहृदयता समाज नेपाललगायत संस्थाको सहकार्यमा नेपालमा आज कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक पाण्डेयले बताउनुभयो ।

यसैगरी विश्वसंस्कृत दिवसका लागि अन्तरराष्ट्रिय तहमा सहृदयता इन्टरनेसनल, इन्टरनेसनल फेडेरेसन अफ् सनातन धर्म, नेपाली हिन्दू फोरम युके, सनातन धर्म अष्ट्रेलिया, विश्व भूटानी हिन्दू सङ्गठन, ग्लोबल सोसाइटी फर् पिस एण्ड स्पिरिचुअल साइन्सलगायत संस्थाले सहकार्य गरेका छन् । रासस