२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिकूलतालाई चिर्दै पुनर्जीवन पाएका ‘लियो’



अ+ अ-

गोरखा। तस्बिरमा देखिएको यो शावक (चितुवाको बच्चा) लाई कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्र, वन विभागका कर्मचारी सबैले लाडप्यारले ‘लियो’ भनेर बोलाउँछन् ।

गत माघ २१ गते गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटको सामुदायिक वनबाट लियोको मरणासन्न अवस्थामा उद्धार गरिएको थियो । करिब तीन हप्ताको लियो जङ्गलमा रोइरहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । लियोकी आमा र अर्को शावक नजिकै मृत फेला परेका थिए । स्थानीयले भेट्दा लियो पिलपिल रोइरहेको थियो ।

डिभिजन वन कार्यालय गोरखालाई उनीहरुले लियो बुझाएका थिए । डिभिजन वन कार्यालयका प्रमुख मदन मोहन शाण्डिल्यले भन्नुभयो, “घटनास्थलमा लियोकी आमा र उसको लियोसँगैको अर्को बच्चा मरिसकेका थिए । लियो भने रोइरहेको, कराइरहेको अवस्थामा फेला परेको थियो ।”

नाजुक अवस्थामा फेला परेको लियोलाई स्थानीय बासिन्दा, वन कार्यालय र वन्यजन्तु विशेषज्ञहरूले छिटो उद्धार गरेको कारण बाँच्न सफल भएको उहाँले बताउनुभयो । लियोकी आमा र उसको अर्को बच्चाको मृत शरीर बेलायतको केन्ट विश्वविद्यालयकी विद्यावारिधिका शोधार्थी तथा वन्यजन्तु पशु चिकित्सक डा जेसिका बोडजीनरले परीक्षण गर्नुभएको थियो ।

बोडजीनरको परीक्षण प्रतिवेदनमा उनीहरुको मृत्यु भाले चितुवाको आक्रमणमा भएको अनुमान गरिएको छ । “भाले चितुवाले उनीहरुमाथि घातक आक्रमण ग¥यो । आफ्ना बच्चाहरूको रक्षा गर्ने क्रममा आमा अनि एउटा बच्चा मारिए”, बोडजीनरले भन्नुभयो, “बाघ वा चितुवाजस्ता ठूला बिरालो प्रजातिमा ‘इनफ्यान्टिसाइड’ भन्ने व्यवहार हुन्छ ।

जसमा भालेले आफ्नो नभएका बच्चाहरू मार्न खोज्छन्, जसले पोथीलाई पुनः प्रजनन अवस्थामा ल्याउन चाहन्छन् ।” लियो सँगैको अर्को शावकको आक्रमण र भोकका कारण मृत्यु भएको हुनसक्ने डा बोडजीनरको अनुमान छ ।

सुरुमा चिकित्सकहरु लियो बाँच्छ या मर्छ भन्नेमा निश्चिन्त थिएनन् । “हाम्रा कर्मचारीले लियोलाई भेट्दा, ऊ दुई दिनभन्दा बढी बाँच्ला भन्ने लागेकै थिएन”, डिभिजन वन कार्यालय प्रमुख शाण्डिल्य भन्नुहुन्छ, “ऊ यति सानो र कमजोर थियो, अहिले ऊ स्वस्थ हुँदै गएको खबर सुन्दा हामी अत्यन्तै खुसी छौँ ।”

लियोलाई डिभिजन वन कार्यालय गोरखामा प्राथमिक उपचारपश्चात थप उपचार र संरक्षणका लागि कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्रमा सारिएको थियो । त्यहाँका डाक्टर किशोर आचार्यको नेतृत्वमा उसलाई २४ सै घण्टा हेरचाह गरियो । उद्धार केन्द्रमा लियोलाई बोतलबाट दूध खुवाउनेदेखि दिसा–पिसाब गराउन सहयोग गरिएको डाक्टर आचार्यले बताउनुभयो ।

“लियो बाँचेको तथ्य आफैँमा उद्धार केन्द्रको कर्मचारीको समर्पण र कडा मेहनतको प्रमाण हो”, उहाँले भन्नुभयो, “टुहुरा चितुवा बच्चाहरूलाई हातले हुर्काउनु अत्यन्तै चुनौतीपूर्ण हुन्छ र धेरैजसो त बाँच्नै सक्दैनन् । भारतमा भएका यस्तै प्रयासहरुका तथ्याङ्कले ५० प्रतिशतभन्दा बढी हातले हुर्काइएका चितुवा बच्चाहरू जिउँदै रहन नसक्ने देखाउँछ । तर लियोले यी सबै प्रतिकूलतालाई जितेको छ ।”

लियोले सुरुमा ढिलो प्रगति गरे पनि हाल छिटोछिटो तन्दुरुस्त हुँदै गएको छ । “अहिले लियोको तौल १२ किलोग्राम पुगेको छ । जुन उसको उमेरका लागि स्वस्थ तौल मानिन्छ”, उहाँले भन्नुभयो । हालसालै गरिएको स्वास्थ्य परीक्षण र एक्सरेले उसमा छातीमा कुनै किसिमको समस्या नभएको पुष्टि भएको डाक्टर आचार्य बताउनुहुन्छ ।

लियोको बढ्दो आकारलाई ध्यानमा राख्दै, वाइल्ड टाइगरका संरक्षणकर्मी ज्याक किनरोसले जेन गुडअल इन्स्टिच्युटसँगको सहकार्यमा नयाँ घेराबार प्रणाली निर्माणका लागि आर्थिक स्रोत जुटाउनुभएको छ । यसले लियोलाई भविष्यमा पुनः प्राकृतिक आवासमा फर्काउन सकिन्छ कि भन्ने मूल्याङ्कन प्रक्रिया सुरु गर्न मद्दत पु-याउने बताइएको छ ।

स्थानीय समुदाय, वनका कर्मचारी र पशु चिकित्सक बीचको समन्वयले लियोको नयाँ जीवन सम्भव भएको कास्कीका डिभिजन वन अधिकृत कोमलराज काफ्लेले बताउनुभयो । “लियोको सफल उद्धार र पुनःस्थापना आफैँमा सबै मिलेर संरक्षणको क्षेत्रमा काम गरे के प्राप्त गर्न सक्छौँ भन्ने उत्कृष्ट उदाहरण हो”, उहाँले भन्नुभयो ।

हालका लागि, लियोलाई पोखरा जुलोजिकल पार्कमा विशेष निगरानीमा राखिएको छ । उसको जीवनको यो अद्वितीय सङ्घर्ष र सफलताले नेपालभरिका संरक्षणकर्मीलाई आशा र प्रेरणा दिइरहेको उनीहरु बताउँछन् । रासस