२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कामकाजको भाषामा वान्तवा र चाम्लिङलाई समेट्न माग



अ+ अ-

काठमाडौँ। कोशी प्रदेशसभामा यही साउन २२ गते सरकारी कामकाजको भाषासम्बन्धी विधेयक दर्ता भएसँगै सो विधेयकमा प्रस्तावितबाहेकका अन्य भाषा पनि समेट्न माग गरिएको छ । विधेयकमा मैथिली र लिम्बू भाषा मात्र सरकारी कामकाजको भाषामा प्रस्ताव गरिएको छ ।

ती दुईवटामात्र भाषा प्रस्ताव गरिएपछि प्रदेशको बहुसङ्ख्यक किरात राई समुदायले कम्तिमा तत्कालका लागि राईअन्तर्गतका वान्तवा र चाम्लिङ भाषालाई पनि सरकारी कामकाजको भाषामा विधेयकमा समेट्न माग गरेका छन् ।

किरात राई यायोक्खाले प्रेस विज्ञप्ति जारी गरी ‘राई जाति एक, भाषा अनेक’ भएकाले त्यसैलाई कमजोरी ठानेर राईअन्तर्गतका भाषालाई सरकारी कामकाजको भाषाबाट वञ्चित गराउन नहुने जनाएको छ । जसका लागि विधेयक संशोधनको माग यायोक्खाले गरेको छ ।

सरकारी कामकाजको भाषालाई लिएर प्रदेशसभामा रहेका किरात समुदायका प्रदेशसभा सदस्यहरूले समेत संशोधनको माग गरेका छन् । प्रदेशसभा सदस्य राजन किरातीले भाषा ज्ञान मात्र नभएर एउटा जीवनपद्धति पनि रहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक संविधानले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातीय मुलुकको रूपमा देशलाई स्वीकार गरिएको उल्लेख गर्नुभयो ।

“संविधानले नेपालमा बोलिने हरेक भाषाहरू राष्ट्र भाषा हुन् भनेको छ”, उहाँले भन्नुभयो, “राईभित्र हामी २६ भाषी छौँ । राई मात्रै भन्ने छुट्टै भाषा छैन, तर जनसङ्ख्याको हिसाबले सबैभन्दा ठूलो राई नै छ । यसैअन्तर्गतका भाषालाई किन कामकाजको भाषासम्बन्धी विधेयकमा प्रस्ताव गरिएन ?”

कोशी प्रदेशको ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, भोजपुर, धनकुटा, इलाम र सङ्खुवासभा मूल थातथलो भई प्रदेशका सबै जिल्लामा फैलिएका पहिलो जनसङ्ख्या राईहरूको छ । समग्र किरात राईहरूको प्रतिनिधित्व हुने गरी वान्तवा र चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषामा समावेश गरिनुपर्ने भाषाविज्ञहरू बताउँछन् ।

राईहरूको फरक फरक भाषालाई सानो सङ्ख्यामा विभाजन गरी सरकारी कामकाजको भाषाका लागि अयोग्य ठान्न नहुने त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा तारामणि राई बताउनुहुन्छ ।

कोशी प्रदेशमा विसं २०७८ को जनगणना अनुसार राईको सङ्ख्या छ लाख ४० हजार ६७४ रहेको छ । त्यसैगरी मैथिली भाषी पाँच लाख ७९ हजार ३४७ र लिम्बूभाषी तीन लाख ३२ हजार ५१२ रहेका छन् । भाषा आयोगले निर्धारण गरेको सरकारी कामकाजका लागि भाषाको सामथ्र्यलाई आधार मान्ने हो भनेपनि सबैभन्दा सामथ्र्यवान वान्तवा र चाम्लिङ भाषा नै रहेको इतिहास तथा संस्कृतिका अध्येता भोगीराज चाम्लिङको दाबी छ ।

“पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण, लिपीको अभ्यास र पठनपाठनका दृष्टिले आधारभूत तहदेखि विश्वविद्यालयसम्ममा यी भाषाहरू पढाइ हुन थालिसकेका छन् । त्यसैले सामथ्र्यका दृष्टिले यी भाषा प्रदेशको सरकारी कामकाजको भाषामा छुटाउनै नहुने भाषा हुन् । राईअन्तर्गतकै अन्य भाषाहरू स्थानीय तहहरूमा प्रयोग गर्ने गरी लागु गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

नेपालको संविधानको धारा ७ मा सरकारी कामकाजको भाषा सम्बन्धी व्यवस्था गरिएको छ । धारा ७(२) मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ, भनिएको छ । त्यसैगरी धारा ७(३) मा भाषा आयोगको सिफारिसमा सरकारले निर्णय गरेबमोजिम हुने उल्लेख छ ।

भाषा आयोगले नै चाम्लिङ र वान्तवा भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सकिने गरी सिफारिस गरेको छ । प्रदेशमा एक प्रतिशतभन्दा अधिक वक्ता सङ्ख्या भएका भाषाहरूको शीर्ष क्रमका आधारमा प्रदेशको सरकारी कामकाजको भाषाको सम्भाव्य सूचीमा नेपालीबाहेक १३ वटा सिफारिस गरिएको छ । तर कोशी प्रदेश सरकारले मैथिली र लिम्बू भाषालाई मात्र सरकारी कामकाजको भाषाको रूपमा विधेयकमा प्रस्ताव गरेको हो ।

प्रदेशको नामकरणमै असन्तुष्टि जनाउँदै आएका किरात राई समुदायले प्रस्तावित भाषासम्बन्धी विधेयक संशोधन नगरिएमा विद्रोहको चेतावनी दिएका छन् । कोशी प्रदेशसभामा ११ प्रदेशसभा सदस्य राई समुदायबाट प्रतिनिधित्व गर्छन् ।

आगामी भदौको २ गते बस्ने भनिएको प्रदेशसभाको बैठकमा प्रदेश सरकारकै मन्त्रीहरूले सो विधेयक माथि संशोधनको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जनाइएको छ । रासस