काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले अध्यक्ष पदको प्रतिस्पर्धामा पराजित भए पनि आफूलाई मत दिने प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् ।
अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशनका क्रममा उठाएका मुद्दाहरूले निरन्तरता पाउने विश्वास व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा उनले देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता अटुट रूपमा रहिरहने उल्लेख गरेका छन् । ‘आफू विजयी बन्न नसके पनि पार्टी र देशका लागि अघि बढाइएका अभियानमा मेरो संलग्नता निरन्तर रहनेछ,’ उनले भनेका छन् ।
पोखरेलले महाधिवेशनका क्रममा उठाइएका विषयहरू—जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन, तथा पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले अघि बढाउन ‘नियन्त्रण र सन्तुलन’को सिद्धान्तको पालन—महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
यी विषयहरूमा भएको बहस र छलफलले पार्टीभित्र नयाँ स्तरमा निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने दिशामा पार्टी अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।
उनले लेखेका छन्–
नेकपा (एमाले)को एघारौं राष्ट्रिय महाधिवेशन (२०८२ मंसीर २७ पुस ३) सम्पन्न भएको छ । महाधिवेशनमा निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित कमरेडहरूमा बधाइ तथा कार्यकालको सफलताको शुभकामना ! महाधिवेशनमा योगदान पुर्याउनु हुने महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई धन्यवाद व्यक्त गर्दछु ।
प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नु हुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै, महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू – जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन , पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयां स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।
आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु । नेकपा (एमाले) को निर्वाचित नयां नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् – हार्दिक शुभकामना व्यक्त गर्दछु ।












