काठमाडौँ । घुस लिएर भ्रष्टाचार गरेको आरोप खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ।
बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो। बहसपछि अदालतले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो।
विशेष अदालतले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार, गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरिएको छ। तर, आदेशको विस्तृत विवरण भने हालसम्म सार्वजनिक भइसकेको छैन।
अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो।
पूर्वमन्त्री गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो। अब उनी थुनामै रहेर अदालतको प्रक्रिया सामना गर्ने छन्।












