काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यलयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि भएको दुव्र्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना भएको बताएको छ ।
विशेष महाधिवेशन पक्षधरहरुले मंगलवार पत्रकार सम्मेलन गरी उक्त घटनाको जिम्मेवारी आफूहरुले नलिने बताएको हो । विशेष महाधिवेशन पक्षधरहरुले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जानुभएका नेता निधिलाई बाटो छेकेरे दुव्र्यवहार गरेका थिए । तर उक्त घटनामा आफूहरुको संलग्नता नरहेको विशेष महाधिवशेन पक्षधरका नेताहरुको दाबी छ । पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले उक्त घटना स्वतः स्फुर्त भएको बताउनुभयो । आफूहरुले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज पार्टी अफिसमा जो घटना घटेको छ, त्यो स्वतःस्फुर्त हो । हामी त्यसलाई कार्यकर्ताको अन्तरआत्माको पुकार सम्झिन्छौँ । तर त्यसमा विशेष महाधिवेशनको तर्फबाट नेतालाई, नेतृत्वलाई, पार्टीलाई त्यस्तो गतिविधि गर्न हामीले कुनै आयोजना गरेका छैनौँ । त्यसको गतिविधिको हामी समर्थन पनि गर्न सक्दैनौँ । तर कार्यकर्ता पार्टीको सिंगो जीवन लोकतन्त्रको जीवन र आधुनिक जीवनको नेपाली समाज बनाउने त्यो कर्तव्यबाट भने कुनै पनि नेपाली कांग्रेसको कार्यकर्ता बाहिर हुँदैन । त्यसोभएको हुनाले त्यो अन्तरआत्माको पुकार उसको स्वभाविक हो । हामी त्यस्ता ती कयौँ साथीहरुका पुकार सुन्छौ । त्यसलाई धैर्यतापुर्वक लिन नेतृत्वलाई पनि हामी अनुरोध गर्छौ ।’
उहाँले विशेष महाधिवेशनको लागि आफूहरुले तिब्र तयारी थालेको पनि जानकारी दिनुभयो । विशेष महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको उहाँले बताउनु भयो । उहाँले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौ आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गर्नुभयो ।












