काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिने क्रम जारी रहेको छ। यसैबीच रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामले पनि आफ्नो नाम फिर्ता लिएका छन्।
डा. रामले सामाजिक सञ्जाल फेसबुकमार्फत दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै स्वेच्छाले समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको जानकारी दिएका छन्।
उनले संसद्मै पुगेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता आफूले नराखेको उल्लेख गर्दै सामाजिक चेतनाका विभिन्न मोर्चाबाट पनि सामाजिक न्यायको लडाइँ लड्न सकिने विश्वास व्यक्त गरेका छन् । “म संसद्को कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्दिनँ। बाहिरैबाट पनि सामाजिक न्यायको पक्षमा निरन्तर आवाज उठाउनेछु,” उनले लेखेका छन् ।
समानुपातिक उम्मेदवार छनोटलाई लिएर सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढ्दै गएपछि पछिल्ला दिनहरूमा सूचीबाट नाम फिर्ता लिनेहरूको संख्या बढ्दै गएको छ।












