काठमाडौं । ‘हामी नेपाल’का संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गर्दै उनले आफ्नै गाउँ र माटोबाट परिवर्तनको सुरुवात गर्ने बताएका छन्। “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,” उनले उल्लेख गरेका छन्।
गुरूङले कुन राजनीतिक दलबाट चुनाव लड्ने भन्ने विषयमा भने खुलाएका छैनन्। पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच सहकार्य र एकताका प्रयासमा सक्रिय देखिएका थिए।
गत निर्वाचनमा गोरखा–१ मा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। सो गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।












