२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन काँग्रेसको निर्णयः समानुपातिक सूचि संशोधन र दस्तखत आवधिक गर्ने



अ+ अ-

ललितपुर: विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको घोषणा पत्र निर्माणका लागि थापाको नेतृत्वमा घोषणा पत्र निर्माण समिति बनाएको छ ।

बिहीवार ललितपुरस्थित एक होटलमा बसेको केन्द्रिय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुलाई बैठकका निर्णय सुनाउनु हुँदै थापा नेतृत्वको काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको घोषणा पत्र निर्माणका लागि पार्टी सभापतिको अध्यक्षतामा पार्टीको घोषणा पत्र निर्माण समिति निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैठकले निर्वाचनलाई केन्द्रित गरेर देशभरका पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्न, निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय गरिएको छ । निर्वाचन परिचालन समितिको नेतृत्व उपसभापति विश्वप्रकाश शर्मालाई दिइएको छ । पार्टीको दोस्रो विशेष महाधिवेशनपछि विगतको अभिलेखलाई आवधिक गर्ने कामका लागि पनि तयारी भइरहेको बताउनु भयो । साथै समानुपातिक सूचि संशोधन र अपडेट गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकको निरन्तरता भोलि पनि हुन्छ । पार्टीका संस्थापक नेताहरुले देखाउनुभएको बाटोलाई सम्झँदै, शहीदहरुको पीडालाई आत्मसाथ गर्दै बदलिएको परिस्थितिमा बदलिएको र सच्चिएको काँग्रेस निर्माण गर्दै अघि बढ्दै निर्वाचनमा काँग्रेस कति सक्षम र दरिलो बनाउने भन्नेकुरामा हामीले आवश्यक निर्णय लिएका छौँ । पार्टीको घोषणा पत्र निर्माणका लागि पार्टी सभापतिको अध्यक्षतामा पार्टीको घोषणा पत्र निर्माण समिति निर्माण गरेका छौँ । निर्वाचनलाई केन्द्रित गरेर देशभरका पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्न, निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय गरेका छौँ । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय भएको छ । पार्टीको दोस्रो विशेष महाधिवेशनपछि विगतको अभिलेखलाई रिप्लेस गर्दै नयाँ आवधिक गर्ने निर्णय भएको छ । उम्मेदवारी दर्ता प्रयोजनका लागि दस्तखत, समानुपातिक लिस्ट संशोधन गर्ने, अपडेट गर्ने निर्णय भएको छ ।’

बैठकले विशेष महाधिवेशनमा आएका कार्यकर्तालाई धन्यवादसमेत व्यक्त गरेको छ । –न्युज एजेन्सी नेपाल