२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले रुकुम (पूर्व) नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गर्नुभयो । पूर्वी रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्नुहुँदै उहाँले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारु लगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताउनु भयो । चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उहाँको भनाइ छ । संयोजक दाहालले रुकुमपूर्वकै लवाङ बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गर्नुभयो । हाल देश जेन—जी आन्दोलनपछि जटिल अवस्थामा रहेको उहाँको भनाई छ । राष्ट्रलाई एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुम पूर्व उपयुक्त थलो भएको बताउनु भयो । उहाँले सोही कारण आफू आगामी फागुन २१ गते हुने निर्वाचनको लागि रुकुम पूर्ववाट उम्मेद्वार बनेको बताउनु भयो । रोल्पाबाट पहिले नै निर्वाचन लडिसकेकाले यसपटक रुकुमपूर्व रोजेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘रुकुम पूर्वको विशेषता के छ भने पुर्वी रुकम नै त्यस्तो जिल्ला हो, जहाँवाट नेपालमा गणतन्त्र अब कसैले रोक्न सक्दैन भनेर निष्कर्ष निकालिएको थियो र त्यो घोषणा गरिएको थियो । रुकुमको चुनवाङ बैठक । तपाई हामी सबैलाई गर्व छ, चुनवाङप्रति । त्यो चुनवाङ खाली नेपालमा मात्रै परिचित छैन, त्यसले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको ढोका खोलेको हो, चुनवाङ बैठकले । त्यो संसारभरी पनि परिचित छ । जहाँबाट महिला, जनजाती, मधेसी, थारु लगायत सबै उत्पीडित समुदायको लागि समावेशी र पहिचानसहित अधिकार दिनेगरि संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल पु¥याउने उद्घोष गरिएको थियो । रुकुम पूर्व त्यस्तो जिल्ला पनि हो जहाँ हाम्रो पार्टीभित्र त्यतिबेला चलेको विचारधारत्मक संघर्ष, निकै ठूलो बहस चलेको थियो । त्यो बैठक पनि हाम्रो पार्टीले इतिहासमा एउटा अविस्मरणीय बैठक भयो, त्यसलाई हामी लवाङ बैठक भन्छौँ । देश खासगरि जेनजी आन्दोलन भदौ २३ को र २४ को विध्वंशपछि असाधारण जटिल परिस्थितिवाट गुज्रिएको छ । राष्ट्र निकै ठूलो अफ्ठ्यारोमा छ । त्यसकारण राष्ट्रलाई एकतावद्ध गर्ने, अनि आन्दोलनलाई एउटा नयाँ उचाई दिने र देशभरी समाजवाद निर्माणको एउटा नयाँ सन्देश दिने उपयुक्त थलो कुन हुनसक्छ भन्दा हाम्रो पार्टीले र मैले रुकुम पूर्व नै त्यस्तो ठाउँ हो हुनसक्छ भनेर आएँ । किनकी रोल्पामा म पहिले नै चुनाव लडिसकेको थिए ।’ 

उहाँले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरी औपचारिक तथा कानुनी मान्यता दिएको उल्लेख गर्नुभयो । यद्यपि त्यसको कार्यान्वयनका लागि विधेयक बने पनि पूर्ण रूपमा लागू हुन बाँकी रहेको बताउनु भयो ।