राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै अछाम पुगेका पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । बालेनसँग चुनावी अभियानका क्रममा अछाम पुगेका बेला उनी मंगलसेन नगरपालिकाको बाँगापाटामा शुक्रबार बिहान अकस्मात अचेत भएका थिए ।
ग्रान्डी अस्पतालले विज्ञप्ति जारी गर्दै मस्तिष्कमा गम्भीर समस्या देखिएपछि आइतबार १२.४५ बजे सिटौलाको निधन भएको जनाएको छ ।
रास्वपाका कार्यकर्ताले सिटौलालाई सुरुमा जिल्ला अस्पताल लगेका थिए तर उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।
नुवाकोट स्थायी घर भएका सिटौला बालेनको टोलीमा नेपालगंज, बर्दिया हुँदै अछाम पुगेका थिए ।
ग्रान्डी अस्पतालमा पुर्याएपछि उनको उपचार सघन उपचार कक्ष (आईसीयू) मा गरिएको थियो । उपचारमा संलग्न एक चिकित्सकका अनुसार सिटौलालाई ब्रेन ह्यामरेज पुष्टि भएको छ।
सिटौलालाई शनिबार बिहान अस्पताल पुगेर बालेनले भेटेका थिए ।
बालेनका सहयोगी भूपदेव शाहको घरमा चिया खाएर निस्कने क्रममा स्कारपियो गाडीबाट ओर्लन खोज्दा सिटौला ढलेर टाउकामा चोट लागेको बताइएको थियो ।
चलचित्र पत्रकार संघका पूर्व अध्यक्षसमेत रहेका सिटौला द सिनेमा टाइम्स अनलाइन पोर्टलका सम्पादक अध्यक्ष हुन् । सिटौलाले एक समय नेपाल टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रम पनि चलाउँथे। दर्जनभन्दा बढी फिल्महरूमा प्रेस संयोजकका रूपमा काम गरेको पृष्ठभूमि भएकाले सिने क्षेत्रका निम्ति उनी अपरिचित नाम थिएनन् ।
अस्पतालको रिपोर्ट













