२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा भावी कार्यदिशा निर्धारणका लागि देशव्यापी सुझाव सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ।

पार्टी उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकले असार १९ गतेसम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बसेको बैठकले संगठनलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यसहित प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

कार्यतालिका अनुसार जेठ ३० गते बागमती प्रदेश, असार २ गते कोशी प्रदेश, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश, असार ८ गते कर्णाली प्रदेश, असार ११ गते गण्डकी प्रदेश, असार १३ गते मधेश प्रदेश, असार १६ गते राजधानी, असार १७ गते सम्पर्क समन्वय, असार १८ गते जनसंगठन तथा असार १९ गते विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीहरूसँग सुझाव सङ्कलन गरिनेछ।

प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहनेछ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले कार्यदलको सदस्य–सचिवको जिम्मेवारी शंकर पोखरेललाई दिने निर्णय गरेको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध, संगठित र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। उनले कार्यकर्तालाई जनतामाझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी राजनीतिक कार्यदिशाबारे आफ्नो धारणा राखेका थिए।

कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा आगामी कार्यदिशासम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।