काठमाडाैँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरूङ र महावीर पुनलाई मन्त्रीको जिम्मेवारी दिएका छन्। प्रधानमन्त्रीको सिफारिसअनुसार गृहमन्त्रीको जिम्मेवारी सुधन गुरूङलाई र नवप्रवर्तन मन्त्रालयको नेतृत्व महावीर पुनलाई दिइएको छ।
नियुक्तिपछि दुवै मन्त्री शपथग्रहणका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।
नवनियुक्त गृहमन्त्री गुरूङ यसअघि पनि छोटो अवधिका लागि गृह मन्त्रालयको नेतृत्वमा रहेका थिए। त्यतिबेला उनको सम्पत्तिको स्रोतसम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि उनीमाथि छानबिनसमेत भएको थियो। गुरूङ गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
त्यसैगरी, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित महावीर पुनलाई नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको भूमिकामा रहिसकेका छन्।
शीतल निवासमा हुने शपथग्रहणसँगै दुवै मन्त्रीले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नेछन्।












